डोटीका स्थानीय तहको बेरुजु ४२ करोड २८ लाख
2023/04/19, 11:48
 
ss

डोटी जिल्लाका नौ स्थानीय तहहरुको ४२ करोड २८ लाख ८१ हजार रुपैयाँ बेरुजु देखिएको छ । सबैभन्दा बढी बेरुजु शिखर नगरपालिकाको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएअनुसार २०७७/७८ को तुलनामा २०७८/७९ मा कूल बेरुजू रकम घटेको देखिए पनि शिखर, दिपायल सिलगढी, सायल र जोरायलको बेरुजु अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको छ । २०७७/७८ मा जिल्लाका स्थानीय तहरुको कूल बेरुजु रकम ५९ करोड ८५ लाख ६७हजार रहेको थियो ।

प्रतिवेदनअनुसार शिखर नगरपालिकाको ११ करोड ६७ लाख ३३ हजार बेरुजु रकम देखिएको छ । यो रकम जिल्लाका स्थानीय तहहरुको कूल बेरुजू रकमको झण्डै २८ प्रतिशत हुन आउँछ । आर्थिक वर्ष २०७७/७८ सम्म उक्त नगरपालिकाको कूल बेरुजु रकम १० करोड ७४ लाख ४३ हजार रहेकोमा २०७८/७९ मा ९२ लाख ९० हजार बेरुजु रकम थप भएको छ ।

यस्तै, जोरायल गाउँपालिकाको बेरुजु रकम आठ करोड ७५ लाख ५४ हजार रुपैयाँ पुगेको छ । शिखर नगरपालिकापछि सबैभन्दा बढी बेरुजु जोरायल गाउँपालिकाको छ । यस गाउँपालिकाको बेरुजु रकम २०७७/७८ मा सात करोड १० लाख ८९ हजार रहेकोमा गत आवमा एक करोड ६४ लाख ६५ हजार थप बेरुजु देखिएको छ ।

दिपायल सिलगढी नगरपालिकाको बेरुजु रकम पनि २०७७/७८ को भन्दा ६४ लाख १६ हजार रुपैयाँले बढेको देखिएको छ । २०७७/७८ मा उक्त नगरपालिकाको बेरुजु रकम दुई करोड ६६ लाख७५ हजार रहेकोमा हाल तीन करोड ३० लाख ९१ हजार पुगेको छ ।

यस्तै सायल गाउँपालिकाको अघिल्लो आर्थिक वर्षको तुलनामा २१ लाख १६ रुपैयाँ बेरुजु बढेको छ । २०७७/७८ मा यस गाउँपालिकाको कूल बेरुजु चार करोड ६० लाख ६३ हजार रुपैयाँ रहेकोमा गत आवमा चार करोड ८१ लाख ७९ हजार पुगेको छ ।

अघिल्लो वर्षको तुलनामा केआई सिंह, बोगटान फुड्सिल, पूर्वीचौकी, बडीकेदार र आदर्श गाउँपालिकाले भने बेरुजु रकम घटाएका छन् । के आई सिंह गाउँपालिकाको बेरुजु रकम जिल्लाका स्थानीय तहहरुमध्ये सबैभन्दा कम एक करोड ४० लाख तीन हजार रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा चार करोड ३५ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार बोगटान फुड्सिल गाउँपालिकाको कुल बेरुजु रकम अघिल्लो आवको तुलनामा गत आवमा एक करोड ६९ लाख७६ हजार रुपैयाँले घटेको छ । अघिल्लो आवमा ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ रहेकोमा गत आवमा पाँच करोड २६ लाख ५६ हजार रुपैयाँमा झरेको छ ।

आदर्श गाउँपालिकाले पनि गत आवमा दुई करोड ९८ लाख बेरुजु रकम घटाएको छ । २०७७/७८ मा पाँच करोड ६१ लाख ५० हजार रुपैयाँ बेरुजु रहेकोमा गत आवमा दुई करोड ६३ लाख ५० हजार बेरुजु कायम भएको छ ।

पूर्वीचौकी गाउँपालिकाको बेरुजु रकम तीन करोड २७हजार रुपैयाँ रहेको छ । यस गाउँपालिकाको आव २०७७/७८ मा सात करोड ७५ लाख ३८ हजार रुपैयाँ बेरुजु रहेकोमा चार करोड ७५ लाख ११ हजार रुपैयाँ घटेको देखिएको छ ।

यस्तै, बडीकेदार गाउँपालिकाको पनि आव २०७७/७८ भन्दा आठ करोड ६१ लाख ५५ हजारले बेरुजु रकम घटेको छ । यस गाउँपालिकाको आव २०७७/०७८ मा १० करोड चार लाख ४३ हजार रुपैयाँ बेरुजु कायम भएकोमा गत आवमा घटेर एक करोड ४२ लाख ८८ हजार कायम भएको छ ।