निर्माण पूरा नहुँदै भत्कियो करोडको सभाहल
2023/05/03, 7:05
 
ss

छ वर्षअघि निर्माण सुरु भएको बैतडी जिल्लाको सभाहल जीर्ण बनेको छ। दशरथचन्द नगरपालिका–४, गढीस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा निर्माण भइरहेको सभाहल जीर्ण बनेर छत भत्किने अवस्थामा पुगेको छ। 

सहरी विकास मन्त्रालयको दुई करोड २३ लाख १४ हजार रुपियाँ लागतको उक्त सभाहल निर्माणको ठेक्का २०७४ सालमा खामपाते शेर्पा निर्माण सेवा कम्पनीले पाएको थियो। ठेक्का सम्झौतापछि पेस्की रकम लिएर ठेकेदार फरार भएका छन्। 

सभाहल निर्माणको काम अधुरै छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन बनेका छन्।  निर्माणको जिम्मा पाएका ठेकेदार सम्पर्कमा नआएको जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताए।  उनले भने, “ठेकेदार दावा शेर्पा अहिलेसम्म सम्पर्कमा छैनन्। कम्पनीले पेटीमा काम गराइरहेका अर्का ठेकेदारको पनि अत्तोपत्तो छैन। निर्माणाधीन सभाहल जीर्ण बनेर भत्किन थालेको छ।”

सहरी विकास तथा भवन निर्माण विभाग डोटीले हेर्ने गरी सो सभाहल २०७४ सालमा निर्माण सुरु भएको थियो। २०७४ साल पुस १८ गते सम्झौता भएर २०७६ असार १७ मा निर्माण सम्पन्न गर्ने सम्झौता थियो। सो योजना निर्माणका लागि तीन पटक म्याद थपिँदा पनि ठेकेदारले निर्माण कार्य पूरा गर्न नसकेको उनको भनाई छ ।  दुई तले सभाहल भवनको छत भत्किँदा निर्माणमा प्रयोग भएका रड र सिमेन्ट झर्न थालेको छ। भवन अलपत्र परेको विषयमा जिल्ला समन्वय समितिले चासो राख्दा सहरी विकास तथा भवन निर्माण विभाग डोटीले ठेक्का तोडेर अर्को टेन्डर निकाल्ने र कम्पनीलाई  कालो सूचीमा राख्ने तयारी भएको जानकारी प्राप्त भएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ। 

बैतडीमा सभाहल नहुँदा सभा समारोहलगायतका कार्यक्रम गर्न समस्या हुने गरेको छ। विकास निर्माणका काममा हुने ढिलासुस्तीका बारेमा सरोकारवाला निकायले चासो नदिँदा भ्रष्टाचार र बेथिति बढेको नागरिक समाजका अगुवा प्रकाश चन्दले बताए ।करोडौँ रुपियाँ खर्च गरेर निर्माण सुरु भएको सभाहल, खेलकुद मैदान, गाउँपालिकाको विद्युत् विस्तारलगायतका महत्त्वपूर्ण योजना अलपत्र पारेर राज्यको सम्पत्ति दुरुपयोग गर्नेमाथि कारबाही हुनुपर्नेमा उनले जोड दिए।