जेलमा रहेका रेशम छुटाउन संसदमा विधेयक लैजाँदै सरकार
2023/05/07, 11:36
 
dd

टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर भई जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी छुटाउन सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाउँदै छ । सरकारले संसद्मा संशोधन विधेयक दर्ताको तयारी गरेको हो ।

गत १९ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसद्मा लैजाने निर्णय गरिसकेको छ । ‘केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक संसद्मा लैजाने निर्णय भएको छ,’ एक मन्त्रीले भने, ‘सायद केही दिनमै विधेयक संसद्मा दर्ता होला ।’ नागरिक उन्मुक्ति पार्टीकै दबाबमा विधेयक अघि बढेको हो ।

गत २५ मंसिरमा शेरबहादुर देउवा नेतृत्वको सरकारले चौधरीलाई छुटाउन अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश विवादमा परेपछि कार्यान्वयनमा जान सकेको थिएन । सोही अध्यादेशका प्रावधान राखेर विधेयक संशोधन गर्न लागिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए ।फौजदारी कार्यविधि संहिताको दफा ११६ मा फिर्ता गर्न नमिल्ने मुद्दाको सूची छ । मुलुकी फौजदारी अपराध संहितामा नकारात्मक र सकारात्मक सूचीका मुद्दाहरू छुट्याइएर सकारात्मक सूचीमा रहेका मुद्दाहरू अहिले पनि अदालतको सहमतिमा फिर्ता लिन सकिने प्रावधान छ । नकारात्मक सूचीका मुद्दा फिर्ता लिन नमिल्नेमा ‘राजनीतिक प्रकृतिका मुद्दा भने फिर्ता गर्न सकिनेछ’ भन्ने प्रावधान थप्न लागिएको हो ।

‘अमानवीय तवरले नियन्त्रणमा लिई ज्यान मारेकोे’ कसुर भएकाले चौधरीको मुद्दा हाल नकारात्मक सूचीमा छ । त्यसकारण राजनीतिक प्रकृतिको घटना भए नकारात्मक सूचीको मुद्दा पनि फिर्ता लिन सकिने गरी कानुन संशोधन हुन लागेको हो । सात प्रहरी र एक बालकको हत्या भएको टीकापुर घटनाको मुद्दामा चौधरी दुई तहको अदालतबाट दोषी ठहर भइसकेका छन् । जिल्ला अदालत कैलालीले ०७५ जेठमा चौधरीसहित ११ जनालाई जन्मकैद, १२ जनालाई तीन वर्ष कैद र एकजनालाई तीन महिना कैदको सजाय सुनाएको थियो । पछि ३ पुस ०७७ मा उच्च अदालत दिपायलले चौधरीसहित आठजनालाई जन्मकैद सजायको फैसला भएको थियो ।

चौधरी हाल डिल्लीबजार कारागारमा छन् । उनकी पत्नी रञ्जिता श्रेष्ठ हालको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छिन् । सरकारलाई समर्थन गर्ने वेलामा नै चौधरीलाई छुटाउने अनचौपचारिक समझदारी भएकाले विधेयक लैजान लागिएको स्रोत बताउँछ ।