सुदूर पश्चिम प्रदेश सरकारमा माओवादी सहभागी हुँदै
मंगलवार सरकारमा जानेहरुको नाम टुंगो लाग्ने
2023/05/08, 11:21
 
ss

सुदूरपश्चिम प्रदेश सरकारले संभवत एकरदुई दिनमै पूर्णता पाउने भएको छ ।प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग आज बिहान बालुवाटारमा सुदूर पश्चिम प्रदेश सरकारमा मुख्यमन्त्री कमल बहादुर शाह, माओवादी संसदीय दलका नेता खगराज भट्ट सहितको छलफलका क्रममा आज साँझसम्म माओवादीबाट सरकारमा सहभागी हुने व्यक्तिहरुको नाम टुंगो लगाउने सहमती भएको छ ।

आज साँझ पुनः सो विषयमा छलफल हुने र साँझ नै सरकारमा जाने व्यक्तिहरु र मन्त्रालयको टुंगो लाग्ने सहमती भएको बैठकमा सहभागी एक नेताले बताए । काँग्रेसले मुख्यमन्त्री र भौतिक पूर्बाधार मन्त्रालयमै निरन्तरता पाउने समेत सहमती भएको छ । समाजवादीको भागमा यसअघि नै परेको आर्थिक मामिला मन्त्रालयमा पनि नरेश कुमार शाहीले निरन्तरता पाउने भएका छन् ।

माओवादीले तीन वटा मन्त्रालयमा दावी गरेको छ । माओवादीले सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला मन्त्रालय र वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्रालयको नेतृत्व पाउनु पर्ने दावी गरेको छ । यसअघि भौतिक पूर्बाधार वा आर्थिक मन्त्रालय मध्ये एउटा कुनै मन्त्रालय पाउनु पर्ने दावी गर्दै आएका भट्ट सहमती अनुसार जुन सुकै मन्त्रालयको नेतृत्व गर्न तयार भएका छन् । छलफलका क्रममा उनले पार्टी अध्यक्ष प्रचण्डले गर्ने निर्णय मान्य हुने बताएका छन् ।

नागरिक उन्मुक्ति पार्टीलाई भने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले दिने विषयमा छलफल भएको बताईएको छ । यद्दपि यस विषयमा नागरिक उन्मुक्ति पार्टीसंग छलफल र सहमती भई नसेकको स्रोतले बतायो । आज माओवादी केन्द्रसंग मन्त्रालय र मन्त्रीका विषयमा सहमती भएपछि भोलि नागरिक उन्मुक्तिसंग पद बाँडफाँडका लागि छलफल गरिने एक नेताले बताए । प्रधानमन्त्री प्रचण्डसंगको छलफलमा मुख्यमन्त्री शाह, भौतिक पूर्बाधार मन्त्री प्रकाश बहादुर देउवा, माओवादी संसदीय दलका नेता भट्ट, माओवादी केन्द्रका सांसद ओम बिक्रम भाट सहभागी थिए ।