एकल योजना नल्याउनुहोलाः मन्त्री देउवा
2023/05/11, 9:25
 
ss

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले एकल योजना नल्याउन अनुरोध गरेका छन् ।
बुधबार नेपाली काँग्रेस क्षेत्र नम्बर ५ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री देउवाले वर्तमान सरकारको ध्यान भ्रष्टाचारमुक्त र समग्र प्रदेशको विकासमा केन्द्रित रहेकाले पार्टीका कार्यकर्ता तथा नेताहरुलाई एकल योजना ल्याएर मन्त्रालयमा नआउन अनुरोध गरेका हुन् ।

‘कम्यूनिष्ट सरकारले योजना बाँडफाँडका नाममा कार्यकर्ता पोस्ने र भ्रष्टाचारलाई बढावा दिएको थियो । हामी त्यो गर्न सक्दैनौं । भ्रष्टाचाररहित सरकार बन्छ । प्रदेश विकासमा सहयोग गर्नुहोस’ मन्त्री देउवाले भने –‘प्रदेशको समग्र विकास निर्माणका कुरा ल्याउनुहोस त्यो गर्छु । योजना दिनुहोस र उपभोक्ता समिति गठन गरि आँसेपासेलाई बाँड्ने मनसाय छ भने अनुरोध गर्न नआउनुहोला । हामी विगतका सरकारका कमजोरीलाई व्यवहारमा उतार्न सक्दैनौं । यदि त्यही स्वभावले हामी अघि बढेमा कम्यूनिष्ट सरकार र हामीमा के फरक देखियो ।’ उनले वडा अध्यक्ष, टोल विकास समितिको संयुक्त हष्ताक्षरसहितको योजना आएमा प्रदेश सरकारले आवश्यकता अनुसार योजना हाल्न तयार रहेको बताए । तर, ती योजनामा सबैको सहभागिता अनिवार्य हुनुपर्ने उनको भनाई छ ।

मन्त्री देउवाले विगतका गल्तीले अहिले शिर्ष नेता जेल जानुपर्ने अवस्था सृजना भएको घटनालाई स्मरण गराउँदै भने –‘संघीयतासंगै प्रदेशमा प्रदेश सरकारको यो दोस्रो कार्यकाल हो । अहिले गल्ती गरेर भोली शिर्ष नेता जेल गएजसरी हामी जेल जान नपरोस भन्नेमा सचेत छौं ।’ उनले समय अनुसार पार्टी र सरकार परिवर्तन हुनुपर्ने बताए । उनले भने –‘स्रोतको दुरपयोग गर्ने सोच पार्टीका कसैले पनि नसोच्नुहोला । जनताले देखिने गरि प्रदेश बनाउन तर्फ सबै लागौं ।’