सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउँदै
2023/05/11, 9:35
 
ss

करिब सय दिन पुग्नुभन्दा अगावै सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउने सम्भावना बढेको छ । सम्भवतः यही हप्ताभित्रै मन्त्री परिषद् विस्तार हुने गठबन्धन दलका नेताहरूले बताएका छन् । दलहरूबीच मन्त्रालय लगायत भागबन्डा मिलिसकेको छ । यसअघि मन्त्रालय भागबन्डाको विवाद रहेको थियो तर अब भागबन्डा मिलेकाले सम्भवतः यही हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताए। 

“यसभन्दा पहिले केन्द्रमै मिलिराखेको थिएन,” नेपाली कांग्रेसका नेता बमले भने, “अब यहाँ पनि मिलिसकेको छ । त्यसैले यही हप्ताभित्रै, सम्भवतः शनिबार प्रदेश सरकारले पूर्णता पाउँछ ।” गत माघ २७ गते कांग्रेसका कमलबहादुर शाहको नेतृत्वमा तीन सदस्यीय मन्त्रीपरिषद् गठन भएको थियो । सरकार गठनको तीन महिना पूरा भइसकेको छ भने जेठ ६ गते सय दिन पूरा हुदैंछ । सरकारमा कांग्रेस र नेकपा एकीकृत समाजवादीको मात्रै सहभागिता रहेको छ । गठबन्धन सहयात्री माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने तयारीसँगै समय लम्बिएको थियो । 

दलहरूले आआफ्नै किसिमको दाबी गरेपछि सरकारलाई पूर्णता दिन कठिनाइ उत्पन्न भएको थियो । अब यो सरकारले यही हप्ताभित्रै पूर्णता पाउने सम्भावना रहेको सरकारका प्रवक्तासमेत रहनुभएका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले बताए। “मन्त्री परिषद् विस्तार यही हप्ताभित्रै हुन्छ,” उनले भने । सरकारलाई पूर्णता दिने विषयमा मुख्यमन्त्री शाह काठमाडौँ पुगेर दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।  

यअघि माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले दुई दुई मन्त्रालय दाबी गरेका थिए । यस्तै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको पनि आफ्नै किसिमको अडान थियो तर दाबी एक खालको आए पनि सहमतिमा जाँदा सबै कुरो मिलेको बमको भनाइ छ ।उनले सरकारलाई विश्वासको मत दिएका स्वतन्त्रबाट निर्वाचित प्रदेश सभा सदस्य ताराप्रसाद जोशीलाई पनि सरकारमा सहभागी गराउने तयारी रहेको बताए । प्रदेशमा छ वटा मन्त्रालय छन् । दुई वटा मन्त्रालयले यसअघि नै मन्त्री पाएका थिए । चार वटा मन्त्रालय भने खाली छन् । भागबन्डा मिलाउनका लागि राज्यमन्त्री पनि नियुक्त गर्ने तयारी भइरहेको छ । प्रदेश सरकारले अहिलेसम्म पूर्णता नपाउँदा विभिन्न क्षेत्रमा असर परेको छ । 

बजेट कार्यान्वयन र आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्ने समयमा नेतृत्वविहीन मन्त्रालयहरूबाट प्रभावकारी काम हुन सकेका छैनन् । अहिले यो प्रदेश सत्तारूद्ध दलका अकर्मण्यताको सिकार बनिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सचिव एवंम् प्रदेश सभा सदस्य धर्मराज पाठकले आरोप लगाए ।