सुदूरपश्चिममा नागरिक उन्मुक्तिले रामेश्वर र लक्ष्मणकिशोरलाई मन्त्री बनाउने
2023/05/12, 11:57
 
ss

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको छ। बिहीवार दिउँसो बसेको नाउपा संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकारमा दुई जनालाई पठाउने निर्णय गरेको हो।

संसदीय दलका नेता घनश्याम चौधरीले सरकारमा सहभागी हुन निर्णय गरेको जानकारी दिए। टीका थापा बाहेकका ६ जना प्रदेशसभा सदस्य सहभागी बैठकले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ। रामेश्वर पूर्व दल नेता र लक्ष्मणकिशोर निवर्तमान प्रमुख सचेतक हुन्। उनीहरूलाई मन्त्री बनाउन पद्बाट हटाइएको थियो।

नागरिक उन्मुक्ति पार्टीले सामाजिक विकास र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित एक राज्यमन्त्री र प्रदेशसभाको सामाजिक विकास समितिको सभापतिको माग गर्दै आएको छ। तर नेकपा माओवादी केन्द्रले समेत सामाजिक विकास मन्त्रालयसहितका तीन मन्त्रालय पाउनुपर्ने माग राखेको छ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठक बस्नुअघि प्रदेशसभा सदस्यहरुले सरकार विस्तारका सम्बन्धमा मुख्यमन्त्री कमलबहादुर शाहसँग छलफल गरेका थिए। दलहरूबीच भागबण्डा नमिलेकै कारण मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।अहिले सम्म सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री विहीन रहेका छन् ।

मंसिर ४ को चुनाव पछि २७ पुसमा एमालेका राजेन्द्र सिंह रावल मुख्यमन्त्री बनेका थिए। उनले आफूसँगै अन्य दुई मन्त्री पनि नियुक्त गरेका थिए। त्यसबेला पनि सरकारले पूर्णता पाउन सकेको थिएन। विश्वासको मत नपाएपछि रावल नेतृत्वको सरकार २६ माघमा ढलेको थियो। त्यसपछि सबैभन्दा ठुलो दलको हैसियतले मुख्यमन्त्रीमा काँग्रेसका कमल बहादुर शाह मुख्यमन्त्रीमा नियुक्त तएका थिए ।