अमेरिकी हस्तक्षेपविरुद्ध मेची–महाकाली अभियान गर्दै राष्ट्रिय जनमोर्चा
2023/05/14, 2:40
 
ss

नेपालमा बढ्दै गएको अमेरिकी हस्तक्षेपविरुद्ध राष्ट्रिय जनमोर्चाले मेची–महाकाली अभियान सञ्चालन गर्ने भएको छ । कञ्चनपुर र बाग्लुङबाट एकै पटक ‘अमेरिकी साम्राज्यविरुद्ध मेची–महाकाली अभियान’ शुरु गरिने आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो । 

अमेरिकी साम्राज्यविरुद्धको बढ्दो खतराको गम्भीरतामाथि ध्यान दिँदै मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि देखिएको खतराका विरुद्ध जनजागरण सञ्चालन गर्ने उद्देश्यले अभियान गर्ने निर्णय गरेको जनमोर्चाका महासचिव मनोज भट्टले बताए ।  जेठ १ गतेदेखि सञ्चालन हुने अभियान अन्र्तगत विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम, कोण सभा, विरोध सभा, पत्रकार सम्मेलन तथा जनभेटघाटका विविद कार्यक्रमहरु गरि जेठ १५ गते एकै दिन बुटवल र काठमाडौंमा समापन गरिने बताए ।

पहिलो टोलीको महेन्द्रनगरदेखि सुर्खेतसम्म राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, तुलसीपुरदेखि बुटवलसम्मको नेतृत्व उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, बाग्लुङबाट हुने अभियानको नेतृत्व युवा नेता कृष्ण अधिकारी र बारादेखि काठमाडौसम्मको नेतृत्व सचिव हिमलाल पुरीले गर्ने गरि अभियान अघि बढाइने छ । 

महासचिव भट्टले भने –‘अमेरिकी साम्राज्यवादका विरुद्धको संघर्षलाई अगाडि बढाउन ध्यान दिन नसकिएमा देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि गम्भिर आघात पुग्ने स्थिति देखा परिरहेको छ । लामो समयदेखि भारतीय साम्राज्यवाद विरुद्ध संघर्ष गर्दै आउनुपरे पनि अमेरिकी साम्राज्यवादका विरुद्ध यसरी संघर्ष गर्नुपरेको थिएन । तर, अव नेपालको राष्ट्रियतालाई भारतीयबाट मात्र नभएर अमेरिकीबाट समेत खतरा उत्पन्न भइरहेको छ ।’

उनले अमेरिकी साम्राज्यवाद हिन्दप्रशान्त क्षेत्रमा भारतलाई सुरक्षा साझेदार बनाएर चीन, उत्तर कोरिया तथा रुसका विरुद्ध मोर्चाबन्दी गर्न हिन्दप्रशान्त सैन्य रणनीति अन्र्तगत काम गरिरहेको बताए । उनले भने –‘अमेरिकाद्धारा नेपालमा सञ्चालित अन्तराष्ट्रिय गैरसरकारी संस्था, नेपालमा लोभप्रलोभन र भ्रममा पारेर धर्मान्तरणलाई तीव्र पारी इकाइकरणको माध्यमद्धारा, संसदद्धारा पारित गरिएको एमसिसी सम्झौता नेपालमा आफनो सेना उतार्न अमेरिकाले गरिरहेको विभिन्न षडयन्त्र, संविधान निर्माणको क्रममा पहिचानको राजनीति, एक मधेश एक प्रदेश, जातीय राज्यसहितको संघियताको एजेन्डालाई नेपालमा लागु गर्न पश्चिम शक्तिहरुको व्यापक रुपमा गरेको आर्थिक लगानी र पहिल्लो समयमा नेपालका सुक्ष्म व्यवस्थापन गर्न अमेरिकाद्धारा कथित स्वतन्त्र पार्टीको निर्माणबाट पनि अमेरिकाले नेपालमा आफनो प्रभुत्व बढाउदै लगेको छ ।’