मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन मुख्यमन्त्री शाह पुनः काठमाडौंमा
2023/05/16, 3:32
 
ss

लामो समयसम्म पनि मन्त्री परिषद् विस्तार गर्न असफल रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह पुनः काठमाडौँ पुगेका छन् । मन्त्री परिषद् विस्तारमा शीर्ष नेताहरूसँग सहयोगको याचना गर्न उनी पुनः प्रदेश सरकारका २ मन्त्री सहित सोमबार साँझ काठमाडौँ पुगेका हुन् ।

मुख्यमन्त्रीका स्वकीय सचिव टेकराज कठायतले भने, ‘मन्त्री परिषद् विस्तारको निकास खोज्ने र प्रदेश सरकारलाई विकास आयोजनाको माग गर्न काठमाडौँ जानुभएको छ ।’ एक साताअघि पनि मुख्यमन्त्री शाह मन्त्री मण्डल विस्तारलाई लिएर काठमाडौँ पुगेका थिए । त्यसताका उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेताहरूसँग भेटघाट गरेका थिए ।

काठमाडौँबाट धनगढी फर्के लगत्तै मन्त्री मण्डल विस्तार गर्ने बताएका उनी हालसम्म असफल रहँदै आएका छन् ।एक साताअघि मुख्यमन्त्री शाहले प्रधानमन्त्री दाहालसँग भेटघाट गर्दै भनेका थिए, ‘मन्त्री परिषद् विस्तारमा धेरै ढिला भयो । छिटो गरिदिनुस् भनेर हामीले आग्रह गर्यौ । उहाँले आजै उच्च स्तरीय राजनीतिक कार्यदलमा कुरा राख्ने बताउनुभएको छ ।’

त्यो भेटले सार्थकता नपाएपछि उनी पुनः शीर्ष नेताहरूलाई हारगुहार गर्न काठमाडौँ पुगेका हुन् । मुख्यमन्त्री शाह नियुक्त भएको ३ महिना बढी भएको छ । उनी माघ २७ गते नियुक्त भएका हुन् ।  यहाँ ७ मन्त्री, ४ राज्यमन्त्रीसहित ११ सदस्य मन्त्रीमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था देखिन्छ ।

यहाँ माओवादी केन्द्रले ३, नागरिक उन्मुक्ति पार्टीले २, मन्त्रालयमा दाबी गरेको छ । अहिले सरकारमा रहेको कांग्रेसले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय लिएको छ । थप १ मन्त्रालय पनि पाउनुपर्ने कांग्रेसको दाबी छ । आर्थिक मामिला मन्त्रालय पाएको नेकपा९एकीकृत समाजवादी० पार्टीले पनि थप १ मन्त्रालय पाउनुपर्ने अडानमा छ ।

तर माओवादीले २ मन्त्रालय पाउने भएको छ । २ मन्त्रालयको लागि आधा दर्जन आकाङ्क्षी छन् । माओवादीबाट संसदीय दलका नेता खगराज भट्ट, ओम विक्रम भाट सरल, झपट साउद, अक्कल रावल, रमेश धामी, शिव ओलीलगायतका मन्त्री बन्ने दौडमा छन् ।   सत्तारुढबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा यहाँको मन्त्री मण्डल विस्तारमा ढिलाइसँगै सकस देखिएको छ ।