सन्दर्भ खेलकुद पत्रकार दिवसः पश्चिमबाट उदाउँदै खेलकुद, सरकार उदासिन निजि क्षेत्रको साथ
2020/07/02, 4:57
 
sports

सीताराम ओझा- राती राती बिभिन्न लिगका फुटबल म्याच हेर्दै आफ्ना मनपरेका टिमले गोल हाने लगत्तै चिच्याउने र फेसबुकमा स्ट्याटस हाल्ने हामीमध्ये धेरै छौ । क्रिकेट, टेबलटेनिस, गल्फ, रेस्लिगं लगायत थुप्रै खेलका खेलप्रेमी हामीहरु नै हौ, हैन र ? यसरी खेलकुद समबन्धी समाचार सम्प्रेषण, प्रकाशन, प्रर्वद्धन अनि प्रसारण गर्ने खेलकुद पत्रकारहरुको अन्तराष्ट्रिय दिवस हरेक वर्षको जुलाई २ मा मनाईन्छ । आज खेलकुद पत्रकारहरुको हकहित, सुरक्षा र व्यवसाहिकताका लागि आज विश्व भरि चर्चा गरिन्छ । सन् १९९४ बाट यस दिवस मनाउन थालिएको हो । जोखिमपूर्ण रेसहरुमा ठूलाठूला क्यामरा लिएर उचाईमा बसेर ज्यानको पर्वाह नगरि छायाकंन गर्ने पत्रकारहरुका कारणले हामीले प्रत्यक्ष र स्पष्ट श्रब्यदृश्यहरु हेर्न घर बसीबसी पाँउदछौ ।

यसता कार, मोटरसाईकल, वाटरबोट, एफ वान लगायत थुप्रै रेसहरु छायांकनका क्रममा आकाशमा हेलिकप्टर, जमिनमा बकंर लगायत बनाएर क्यामराका लेन्सले ज्यान हत्केलामा राख्दै छायांकन गर्ने पत्रकारहरु सदैव छाँयामा रहन्छन् । कतिपय अवस्थामा समाचार सम्प्रेषणका क्रममा मृत्यूवरण गरेका पत्रकारहरुको नाम समेत हामीले चाल पाँउदैनौ, आज विश्वले तिनै बहादुर र कर्तब्यनिष्ठ पत्रकारहरुलाई संझना गर्दछ । खेलकुदको कुनै देश या भाषा हुँदैन तसर्थ अफ्रीकाका धावकहरु एसियामा र एसियाका पौडीवाजहरु अफ्रिकामा, यूरोप अनि अमेरिकासम्म प्रचलीत हुन्छन् । नेपालका ग्रामीण चियापसल सम्ममा मेस्सी, बेक्याम्प, रोनाल्डोसम्मका फोटाहरु सहृदय टाँसिएका हुन्छन् । खेलकुद मोहका लागि यि प्रमाणहरु नै काफी छैनन र ? ति तस्वीरहरु पनि यस्तै कुनै खेल पत्रकारले मेहनत गरेर खिचेका हुन्छन्, यदि यि खेलपत्रकार नहुने हुन भने खेलकुदको बजार र परिवेश नै संकुचित हुन पुग्दछ । खेलपत्रकार हुन जोखिम र मेहनत मात्र नभई ज्ञान पनि उत्तिकै हुन जरुरी छ । खेलको पूर्ण ज्ञान, नियम अनि अभ्यासहरुको चिन्तन मनन र समालोचनात्मक सोच भएका पत्रकारहरु मात्र खेल पत्रकार हुन सक्दछन् । 

स्मरण गरौ पौडीवाजले पौडी खेलिरहेको दृश्य टिभीमा हामीले हेरिरहँदा एउटा खेल पत्रकार पानीमा भिजेर क्यामराका साथ पौडी खेल्दै पौडी प्रतियोगीहरुलाई पछयाईरहेको हुन्छ । अझ खेलकुदको महाकुम्भ जस्तै विश्वकप फुटबल, क्रिकेट लगायतहरुमा खेल पत्रकारहरुको योगदान र मेहनत तारिफयोग्य हुन्छ । हामीहरु खेलकुद बासी हेर्न मन पराँउदैनौ तसर्थ प्रत्यक्ष प्रसारण गर्नका लागि साना भन्दा साना त्रुटिहरु नगरेर हामी माझ जस्ताको त्यस्तै खेल अनि परिणाम ल्याउने विश्वभरिका खेलकुद पत्रकारहरुलाई नमन । नेपालमा खेलकुद पत्रकारलाई औपचारीक व्यवसाय या आँउदा पुस्ताको सपनाका रुपमा खासै देखेको पाइन्न, अबका दिनमा खेलकुद पत्रकारिताको नक्षत्र नेपालमा पनि बढेर जाओस् ।

पश्चिमबाट उदाउँदो खेलकुद
नेपाली खेलकुदमा सुदुरपश्चिम क्षेत्रको योगदान ठुलो रहेको कुरालाई कसैले नकार्न सकिदैन् । सुदुरपश्चिमका खेलाडीहरुकै कारण नेपालका तीन वटा विभागीय टीमहरु धानिएका छन् । तीन वटै विभागीय टीमहरुमा ७० प्रतिशत सुदुरपश्चिमकै खेलाडीहरु रहेका छन् । जलपरी गौरीका सिंह हुन वा किर्तिमानी खेलाडी दिपक विष्ट हुन्, उदाउँदा प्रिन्स दाहाल हुन वा दिपेन्द्र सिंह ऐरी हुन् । सवै सुदुरपश्चिमबाट उदाएका खेलाडी हुन् । नेपालको प्रतिनिधित्व गर्दै ओलम्पीयक खेलमा सहभागी जनाउनेहरु पनि धेरै छन् । अर्को अर्थमा भन्दा सुदुरपश्चिमबाट नेपाली खेलकुदमा विगतदेखि वर्तमानसम्म सयौं खेलाडीहरु जन्मिएका छन् । 

सुदुरपश्चिममा देशकै ठुलो डिपिएल
धनगढीमा देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग धनगढीमा हुने गरेको छ । नेपाली क्रिकेटलाई व्यवसायिक वाटोमा डोर्याउने प्रतियोगिता मानिन्छ डिपिएल । डिपिएलपछि धेरै व्यवसायिक प्रतियोगिताहरु आयोजना हुन थालेका छन् । नेपाली क्रिकेटलाइ नयाँ उचाईमा पुर्याउने डिपिएल सुदुरपश्चिमबाट उदाएको र अरुलाई पाठ सिकाउने प्रतियोगिता हो । 

सुदुरपश्चिममा देशकै ठुलो गोल्डकप
सुदुरपश्चिम प्रदेशको धनगढीमा देशकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता आयोजना हुदै आएको छ । धनगढीमा सुदुरपश्चिम खप्तड गोल्डकप आयोजना भईरहेको छ । यसले पनि नेपाली खेलकुदमा नयाँ तरंग ल्याएको छ । यसपछि गोल्डकपहरुको पुरस्कार राशी वढेको छ । खेलाडीहरुले खेल क्षेत्रबाट जीवन जिउने आधार सिर्जना भएको छ । गोल्डकपसँगै धनगढी, कैलाली र प्रदेशका विभिन्न जिल्लाहरुमा दर्जनौ फुटबल प्रतियोगिता आयोजना भईरहेका छन् । 

वढ्दै फुटबलका विभिन्न प्रतियोगिताहरु
सुदुरपश्चिम प्रदेशमा एक बर्षमा दुई दर्जन वढी फुटबल प्रतियोगिताहरु आयोजना हुदैं आएका छन् । सुदुरपश्चिमको एक्लो र सर्वाधिक धनराशीको खप्तड गोल्डकपपछि कैलालीको गौरीगंगामा पनि गोल्डकप आयोजना थालनीको घोषणा भएको छ । यो बर्ष कोरोनाका कारण गोल्डकप नभए पनि आगामी बर्षमा आयोजना हुनेछ । त्यसैगरी नेपालमै पहिलो पटक महिला गोल्डकपको पनि आयोजनाको तयारी भईरहेको थियो । त्यसलाई पनि कोरोनाले प्रभावित पारेको छ । धनगढीमा फारवेष्ट पशुपति कप, अत्तरियामा राजधानी कप, धनगढी जुगेडामा प्रदेश स्तरीय महिला तथा फुटबल प्रतियोगिताहरु नाम चलेका प्रतियोगिताहरु हुन् । विभिन्न शहरहरु मात्रै होईन गाउँ गाउँमा पनि फुटबलका प्रतियोगिताहरु आयोजना भईरहेका छन् । 

विद्यालयस्तरकै ठुलो प्रतियोगिता पनि सुदुरपश्चिममै
व्यवसायिक क्रिकेट र फुटबलका प्रतियोगिताहरु मात्रै होईन कलिला क्रिकेटरहरु उत्पादन गर्नका लागि विद्यालयस्तरको प्रतियोगिता लिटिल फ्लावर प्रिमियर लिग पनि धनगढीमा आयोजना हुँदै आएको छ । क्रिकेटको तल्लोस्तरदेखि विकास गर्न थालिएको प्रतियोगिताले भविष्यका लागि खेलाडीहरुलाई परिपक्क बनाउन तयार पारिरहेको छ । 

सरकार उदासिन निजि क्षेत्रकै साथ
सरकारको प्राथमिकतामा खेलकुद पर्नुपर्ने हो । देशलाई एकताको सुत्रमा बाँध्ने खेलकुदको विकास र लगानीमा सरकारले वेवास्ता गर्दै आएको छ । संघीय सरकारले चासो नदेखाएको भन्दै प्रदेश सरकार र स्थानीय सरकारहरु गठन भए । तर कुनै पनि निकायले खेलकुद क्षेत्रलाई सहयोग नगरेको गुनासाहरु वढिरहेका छन् । डिपिएललाई सुरुवातमा होटेल डिभोटी लगायतले साथ दिएका कारण डिपिएल सुरु भएको थियो । भागेश्वर ग्रुपको साथबाट खप्तड गोल्डकपको सुरुवात भएको थियो । खेलकुद क्षेत्रको विकास गर्नका लागि प्रदेशमा भईरहेका प्रतियोगिताहरुलाई प्रदेश सरकार र स्थानीय सरकारले गौरव र पहिचानको साथ अगाडी वढाउनुपर्ने हो तर त्यतातिर ध्यान दिनुको सट्टा सहयोग पनि गर्न कन्जुसाई गरिरहेका छन् । 

सुदुरपश्चिममा खेल पत्रकारिता
खेलकुदको विकाससँगै सुदुरपश्चिममा पनि खेल पत्रकारिताको सुरुवात भएको अगुवाहरु बताउँछन् । खेलाडी हुँदै पत्रकार बनेका धेरै जनाका कारण पनि खेलकुद पत्रकारिता अघि वढेको छ । कान्तिपुर दैनिकका सुदुरपश्चिम प्रमुख चित्रांग थापाले ढाई दशक अघिदेखि नै खेलकुदको अलग्गै कोलम लेख्ने गरेका थिए । उनी अहिले पनि सक्रिय पत्रकारितामा छन् । खेलकुद भन्ने वित्तिक्कै हुरुक्कै हुन्छन् । खेलकुद हुने वित्तिक्कै उनको उपस्थिति भईहाल्छ । खेलकुदलाई प्राथमिकतामा राखेर लेख्ने पाका पत्रकारहरुमा मनमोहन स्वार, सिद्धराज भट्ट लगायतका पर्छन् । उनीहरु पनि अहिले पत्रकारितामै लागिरहेका छन् । जानकारी पाईएको आधारमा त्यो नै सुदुरपश्चिमका खेलकुदका समाचार लेख्ने पहिलो पुस्तामा पर्छन् । 

खेलकुदका गतिविधिहरु वढेसँगै दोस्रो पुस्तामा पनि यो क्षेत्रका समाचार लेख्ने दोस्रो पुस्ताको जन्म भयो । सुदुरपश्चिमलाई खेलकुदको माध्यमले चिनाउन र यहाँका खेलकुदका सम्भावनाहरुलाई समाचारको माध्यमले अगाडी वढाउने दोस्रो पुस्तामा आउने नाम हो विक्रम गिरी राजेन्द्र नाथ लगायत । उनीहरुकै पालामा खेलकुद पत्रकारिताले केही व्यापकता पाएको थियो । ढाई दशम अघि नै नेपालमा खेलकुद पत्रकारिताहरुले नेपाल खेलकुद पत्रकार मञ्च गठन गरेर खेलकुद क्षेत्रका लागि काम थालिसकेका थिए । विक्रम गिरी, राजेन्द्र नाथले पनि त्यसपछि खेलकुद पत्रकारितालाई सुदुरपश्चिमबाट अगाडी वढाउँदै लगे । उनीहरुले खेलकुद पत्रकार मञ्च कञ्चनपुरको शाखा पनि गठन गरेका थिए । अहिले दुवै जना सुदुरपश्चिमबाट केन्द्रसम्म पुगेका छन् । सवै विटमा काम गरे पनि उनीहरु अहिले सक्रिय भएर खेलकुदलाई पनि माया गरिरहेका छन् । 

आज खेलकुद पत्रकारिता गरिरहेकाहरु भने तेस्रो पुस्तामा पर्छन् । म खेलकुद भनेपछि हुरुक्क हुन्थे । तर म कुनै खेलको खेलाडी पनि होईन् । विद्यालयमा पढ्दाखेरी कक्षाबाट भागेर धनगढीमा आयोजना हुने मेयर कप, अण्डर ५ फुट, विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हेर्न पुगिहाल्थे । पछि उच्च शिक्षा हासिल गर्दै गर्दा पत्रकारितातिर अग्रसर भए । धनगढीमा पत्रकारिता गर्दै गर्दा हामीले पनि नेपाल खेलकुद पत्रकार मञ्चको शाखा स्थापना गरेर अगाडी वढाईरहेका छौं । खेलकुदको विकासमा हाम्रो पनि योगदान हुन्छ भनेर हामीले विभिन्न गतिविधिहरु गरिरहेका छौं । 
अहिलेको पुस्तामा भने खेलकुद पत्रकारिता गर्नेहरु धेरै छन् । धनगढीमा म लगायत नवराज भाई, कैलाश भाई लगायत धेरै जना खेलकुद भनेपछि मरिहत्ते गर्नेहरु पनि छन् । केन्द्रमा पनि यहाँका धेरै जना भाईहरु अहिले मुलधारका संचार माध्यममा काम गर्दै खेलकुदका लागि कलम चलाईरहेका छन् । यज्ञराज जोशी, सन्तोष पाण्डेय, जितु सावद लगायत धेरै जना भाईहरुले अहिले काठमाण्डौंका संचार माध्यमका वाघडोर समालीरहेका छन् । 

खेलकुद पत्रकार मञ्च र स्पोर्टस अवार्ड
लामो समयदेखि म काठमाण्डौंमा आयोजना हुने स्पोर्टस अवार्डमा सहभागी भईरहन्थे । सधैं मलाई एउटै प्रश्नको सामना गर्नुपथ्र्यो । तिम्रो प्रदेशमा कहिले हुन्छ स्पोर्ट अवार्ड ? मैले उत्तर दिन्थ्ये यो बर्ष पक्का हुन्छ । त्यो भनेको धेरै बर्षसम्म पनि अवार्ड गर्न सकिएन् । फेरि पनि काठमाण्डौं जाँदा दाईहरुले यसपाली तिम्रो क्षेत्रमा अवार्ड पक्का हुन्छ नि होईन भनेर छेड हानिरहन्थे । अघिल्लो बर्षको असार १७ अर्थात अंग्रेजी महिलाको जुन २ तारिख आजकै दिन म प्रदीप र विराज काठमाण्डौंमा सहभागी भएका थियौं । त्यहाँ पनि त्यही प्रश्न दोहोरिएपछि यसपाली जसरी पनि गर्ने संकल्प ग्रयौ । अवार्डका लागि सवैलाई भन्यौ । सवै ठाउँ धायौं । अह कही कतैबाट सहयोग पाईएको थिएन् । तर अवार्ड आउन १५ दिन मात्रै वाँकी थियो । कसरी गर्ने भन्ने तनाव छदै थियो तर हामीलाई म छु टेन्सन नलेउ भनेर हौसला वढाईरहनु हून्थ्यो दिपक नेपाल दाई । हामी कार्य समितिमा २२ जना थियौं । सवैलाई वोलाएर जसले जे जति सकिन्छ । प्रायोजन, प्रवद्र्धक र व्यानर खोज्नुपर्यो भनेर भनियो । तर कोही पनि साथीले चासो देखाएनन् । यदपि केही साथीहरुले भने निकै महेनत गरेका छन् । उनीहरुको मेहनत अवार्डमा पनि देखियो । अधिकांश साथीहरु अवार्डमा दर्शकको रुपमा आए । सहयोग गर्नका लागि केही साथीहरु मात्रै जुटे । 

अवार्ड हुने नहुने दुविधा र दोधारकै विचमा युवा व्यवसायी अभियान खड्काले प्रायोजनको सुरुवात गरि दिए । त्यसपछि दैनिक रुपमा एक दुई जना प्रायोजकहरु भेटिरहे । म प्रदीप दिपक दाई विराज अधिकांश प्रायोजकसँग सम्झौता गर्दै सहयोगका लागि पुगेका थियौ । अन्य साथीहरु पनि सकिने काममा लागेकै थिए । महेश शाह दाईले निशुल्क हल दिनुभयो । अन्य विभिन्न निकायहरुले जस्तै वस व्यवसायी समितिले वस, होटेलले खाना वस्ने दिए । अवार्डलाई सफल पार्नका लागि हामीलाई धनगढीका अस्पतालहरुले सवैभन्दा ठुलो सहयोग गरे । कैलाली अस्पतालले मुख्य प्रायोजन गरेर साथ दियो भने सीपी अस्पताल माया मेटो अस्पताल निसर्ग अस्पताल सारथी अस्पताल नवनीवन अस्पताल मात्रै होईन सुख्खडको घोडाघोडी अस्पतालले पनि साथ दियो । नवजीवन अस्पतालमा हामी पछि पुग्दा किन हाम्रो पहिले नआको भनेर डाक्टर विदुर मणी ढकालले भन्नुभयो । निसर्ग अस्पतालका अध्यक्ष तिर्थ पन्तले हामीलाई मुख्य प्रायोजनका लागि किन नभनेको भनेर पनि भने । अस्पतालमा मात्रै होईन फार्मेसीहरुले पनि सहयोग गरे । शौाभाग्यश्वर फार्मेसीका सञ्चालक मेगेन्द्र वोहोरा दाईले म पनि अवार्डमा सहयोग गर्न चाहन्छु भनेर आफैं सहयोग गर्नुभयो । अवार्ड नजिकै गर्दा  व्यक्तीहरुले पनि ५ हजारभन्दा वढी सहयोग गर्नुभयो । 

हामीले अवार्डको आयोजना गर्नका लागि अन्य प्रदेशमा पनि सोधपुछ गरेका थियौं । प्रदेश नम्बर १, प्रदेश नम्बर ३, गण्डकी प्रदेश सरकारहरुले अवार्डका लागि ५ देखि १० लाख रकमसम्म सहयोग गरेका रहेछन् । हामीले पनि हाम्रो सुदुरपश्चिम सरकारले सहयोग गर्छ भनेर प्रदेश सरकारका मुख्यमन्त्रीदेखि आर्थिक मामिला मन्त्री सामाजिक विकास मन्त्री सवैलाई भेट्यौ । तर कही कतैबाट पनि सहयोग गर्ने अवस्था आएन् । अवार्ड गरेको ८ महिना भएको छ । तर आजसम्म सुदुरपश्चिम सरकारको तर्फबाट एक पैस पनि पाएका छैनौं र पाउने आस पनि मारिसकेका छौं । केही स्थानीय तहहरुले सानो तिनो सहयोग गरेका छन् र गर्ने क्रम जारी नै छ । आज विश्व खेलकुद पत्रकार दिवसकै पुर्वसन्ध्यामा धनगढी उपमहानगरपालिकाले खुशी दिएको छ । स्पोर्टस अवार्डका लागि एक लाख ५० हजार बजेट विनियोजन गरेको छ । अव अरु स्थानीय तहहरुले पनि यसैगरी वजेट विनियोन गरि दिईउन । प्रदेश सरकारले पनि यसमा ध्यान देओस । सवैलाई विश्व खेलकुद पत्रकार दिवसको अवसरमा सवैलाई शुभकामना ।