बाजुरामा असिनापानीका कारण गहुँ बाली नष्ट
2023/05/18, 12:41
 
ss

बाजुरामा अविरल असिना पानीका कारण पाकेर घर भित्र्याउनै लागेको गहुँ बालीमा क्षति भएको छ। बुधबार आएको अविरल असिना पानीले जिल्लाको बुढीगंगा र बडिमालिका नगरपालिकाका साथै गौमुल तथा खप्तड छेडेदह गाउँपालिकाका किसानले लगाएका गहुँ बालीसँगै आलु, प्याज लगायतका तरकारीमा समेत ठूलो मात्रामा क्षति पु¥याएको हो ।

असिनापानीले स्याउ, सुन्तला, अनार लगायतका फलफूल समेत नष्ट गरिदिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीन प्रसाद जैसीले बताए। वर्षभरीको मेहनत असिना पानीले नष्ट गर्दा आफुहरुलाई चिन्ता लागेको खप्तड छेडेदह–७ का खगेन्द्र रावतले दुखेसो पोखे। उनले असिना पानीले गहुँ बाली तथा अन्य फलफुल तरकारी नष्ट गर्दा के खाने भन्ने र छोराछोरीलाई कसरी पाल्ने भन्ने चिन्ता लागेको बताए।

असिना पानीका कारण पुगेको क्षती भएका कृषकलाई राहत प्रदान गर्न प्रारम्भिक चरणमा क्षतिको विवरण सङ्कलन गर्ने कार्य गरिरहेको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी जैसीले बताए। उनले क्षतिको यकिन विवरण सम्बन्धित वडामा गई टिपाउन तथा कृषि विकास शाखा र वडा कार्यालयलाई तथ्याङ्क सङ्कलनमा आवश्यक समन्वय तथा सहजीकरण गरिदिन आग्रह गरेका छन।