कैलालीमा महिलाहरुको नेतृत्वमा भारतबाट अवैध तस्करी मौलाउँदै (भिडियो सहित)
2023/05/18, 3:06
 
ss

भारतसँग खुल्ला सीमाना रहेको कैलाली जिल्लामा अवैध तस्करी मौलाउँदै गएको छ । भारतीय बजारहरुबाट भन्सार छलेर नेपाली बजारमा विभिन्न सामानहरु अवैध रुपमा ल्याउने क्रम बढ्दै गएको हो । कैलालीको धनगढी क्षेत्रमा महिलाहरुको नेतृत्वमा तस्करी हुने गरेको स्रोतको दावी छ । धनगढीको त्रिनगर नाका नजिकै रहेको वडा नम्बर २ को भन्सार रोड हुदैं क्रमश खुल्ला सीमाना रहेको शान्तिनगर, जुगेडा, घुईयाघाँट, बंगरा कटान हुदैं अवैध रुपमा भारतबाट नेपालमा दैनिक रुपमा लाखौंको तस्करी भईरहेको स्थानीय वासिन्दाहरुले बताएका छन् । 

सीमा क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको उपस्थिति रहेको भएपनि उनीहरुसँगको सेटिङका साथै उपस्थित नभएको र रातीको समयमा भारतीय बजारबाट लाखौंको सामानहरु नेपाल भित्र्रिने गरेको छ । तस्करीको काममा पुरुषभन्दा महिलाहरु बढी रहेको बताईएको छ । प्रहरीका घुमुवा तथा अन्य सुरक्षाकर्मीहरुलाई महिनावारी बुझाएर उनीहरुकै वेवास्ताले तस्करी भईरहेको आरोप रहदै आएको छ । यसका साथै महिलाहरुको शारिरीक शोषण गरेर समेत तस्करी हुन दिएको आरोप लाग्दै आएको छ । 

भारतीय बजारदेखि महिलाहरुकै नेतृत्वमा उनीहरुले मोहना नदी भएर बोकेर र साईकलमा लाखौंका सामानहरु तस्करी गरिरहेका छन् । यसबारेमा प्रहरी प्रशासन पनि जानकार रहेको र रोक्नका लागि खासै पहलन नहुने गरेको स्थानीयहरुको गुनासो छ । ‘धनगढीमा कुन कुन ठाउँबाट कस्को कस्को सामान आउँछ ? कसरी आउँछ ? कुन बेला आउँछ ? सबैलाई थाहा छ नि । थाहा नहुने कुरा हुन्छ ?’ एक जना स्थानीयले भने–‘तस्करी हुने बेलामा सबैले आँखा चिम्लिन्छन् । केही पनि नदेखेको जस्तो गर्छन । अचानक सामान ल्याउन लागेको देखिहालेमा पैसा खाएर छोड्छन् । बोर्डरतिर आउनु न सबै कुरा आफै देखिहाल्नुहुन्छ ।’

सामान तस्करी गराउने महिला तथा पुरुषहरुको समुहले ठाउँ अनुसार विभिन्न समयमा अवैध रुपमा नेपालमा सामान भित्र्याउने गरेका छन् । विभिन्न उपाय अपनाउँदै तस्करी गरि भित्र्याईएको सामान सम्बन्धित व्यापारीलाई दिने गरिएको छ । त्या सामान भन्सार बिना नै नेपालमा पुराए बापत तस्करहरुले राम्रो रकम पाउने गरेका छन् । सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढ्दै गएपनि भारतबाट हुने तस्करी भने नियन्त्रण हुन सकेको छैन । सीमामा सुरक्षा उपस्थिति बढेपछि तस्करीको सामान समातिने क्रम भने तुलनात्मक रूपमा बढेको छ । तर, लेनदेनमा कुरा नमिले मात्र सामान समात्ने गरेको आरोप प्रहरीलाई लाग्दै आएको छ । त्रिनगर भन्सार कार्यालयको मातहत पर्ने क्षेत्रमा मात्रै बर्षमा सयौ पटक भन्सार छलीको सामान बरामद गरिएको थियो । तस्करीकै क्रममा पटक–पटक सामान समातिनुले पनि तस्करी भइरहेको पुष्टि गर्छ । यद्यपि प्रहरीको सक्रियता बढेपछि सामान समातिने क्रम बढेको तर्क सुरक्षा अधिकारीहरू गर्छन । भारतसँगको खुला सीमानाका कारण भारतबाट सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स तथा हार्डवेयरका सामान, कपडा, सवारी साधनका पार्टपुर्जा, चिनीलगायत उपभोग्य सामानको बढी तस्करी हुने गरेको छ । नेपालबाट भारतमा केराउ तस्करी हुन्छ । 

अवैध तस्करी रोक्न खोज्दा महिलाहरुले विभिन्न वहाना बनाउने तथा सुरक्षाकर्मीहरुलाई हातपात समेत गर्ने गरेका छन् । महिनावारी रुपमा पैसा बुझाउने भएका कारण महिलाहरुकै आडमा पुरुषहरुले तस्करीमा साथ दिईरहेका छन् । तस्करी नियन्त्रण हुन नसक्दा महिनामा लाखौं रकम राजश्व सरकारले गुमाईरहेको छ ।  यता प्रहरीले भने अवैध तस्करी रोक्नका लागि काम गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक खगेन्द्र साउँदले खुल्ला सीमा नाकाकबाट हुने तस्करी रोक्नका लागि अवैध सामान बरामददेखि गस्तीसम्म गरिरहेको बताए । एक सय १ किलोमिटर खुल्ला सीमा भएका कारण तस्करी रोक्नमा समस्या हुदैं आएको भएपनि प्रहरीहरुले रोक्नका लागि काम गरिरहेकै कारण दैनिक जसो भन्सार छलिका लाखौं मुल्यका सामानहरु बरामद गर्दै भन्सार कार्यालयलाई बुझाईरहेको प्रहरी निरीषक साउँदको दावी छ ।