धनगढीको बसपार्क पार्किङ्गमा समस्या, नयाँ बसपार्कका लागी धनगढी ३ मा प्रक्रिया सुरु
2023/05/18, 7:20
 
ss

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी र मुख्य केन्द्र धनगढी बसपार्कको अवस्था अस्तव्यस्त छ। करिब ४४ वर्ष पूरानो धनगढी बसपार्कमा यातायातका साधन पार्किङ्गमा समस्या हुन थालिएपछि नयाँ बसपार्क निर्माणको प्रक्रिया सुरु गरिएको छ।

धनगढी ४ को उक्त बसपार्कमा सिमित संख्यामा यातायातका साधन राख्न बनाइएकोले साँधुरो र ठाउँ अभावलाई मध्यनजर राख्दै धनगढी उपमहानगर ३ मा नयाँ बसपार्क निर्माणको प्रक्रिया सुरु गरिएको हो। धनगढी ४ बर्षपार्कमा ७० बस मात्र अटाउने गरी निर्माण गरिएको बसपार्कमा १५ सयको संख्यामा पार्किङ्ग गराउनुपर्ने बाध्यता छ। त्यसैमा बसपार्कको प्रवेश र निकासद्वार साँघुरो भएकाले यातायातका साधन ओहोर दोहोर गर्न समेत सास्ती बेहोर्नुपरेको छ।

धनगढीमा बससँगै यात्रुको चाप बढ्दै जान थालेपछि नयाँ बसपार्कका लागी प्रक्रिया अघि बढाउन पहल चालिएको छ।धनगढी ३ कालिका नगरमा प्रस्तावित बसपार्क निर्माणको प्रक्रिया अघि बढाउन उपमहानगरपालिकाको समन्वयमा धनगढी नगर विकास कोषले बसपार्क निर्माणको प्रक्रिया अघि बढाएको हो।बसपार्कको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० निर्माणका लागि सर्भेको काम भएको वडा नम्बर ३ का वडाध्यक्ष राजबहादुर ऐरले बताए । सो स्थानमा बसपार्क निर्माणका लागि सर्भेसमेत गरिएको उनले बताए।

बगरको रूपमा रहेको ऐलानी जग्गामा बसपार्क निर्माणको प्रस्ताव गरिएकोले निर्माणको प्रक्रिया अगाडि बढेको उनले बताए।अध्यक्ष ऐरका अनुसार १६ हेक्टर क्षेत्रफलमा बसपार्क प्रस्ताव गरिएको छ। सो जग्गाको भोगाधिकार प्राप्तिका लागि फाइल पनि अगाडि बढाइएको छ। राष्ट्रिय वन क्षेत्रको नाङ्गो जग्गा रहेका कारणले त्यसको भोगाधिकार आवश्यक परेको जनाइएको छ। सोही स्थानमा वडा प्रहरी कार्यालय निर्माणको प्रस्ताव पनि गरिएको छ । यसैगरी, अर्कोतिर खेलमैदानका लागि पनि जग्गा छुट्टाइएको छ। तर धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को शिवपुरी सामुदायिक वनमा बसपार्क निर्माणको योजना सफल बन्न सकेको छैन। धनगढी उपमहानगर ३ मा नयाँ बसपार्क निर्माणभएपछि बसपार्कका लागि राजमार्ग नजिक र बजारभन्दा अलि टाढाको क्षेत्र रहेकाले पार्किङ्ग समस्या हट्ने बिश्वास लिइएको छ।