सुदूरपश्चिम मुख्यमन्त्रीका सय दिनः मन्त्रीमण्डल विस्तार गर्न नसक्नुदेखि अधुरा भवन उद्घाटन
2023/05/19, 7:18
 
ss

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री कमलबहादुर शाहको आज सय दिन पुरा भएको छ । मन्त्रीमण्डल विस्तार गर्न नसक्नुदेखि अधुरा भवन उद्घाटन लगायतका विवादमा मुख्यमन्त्री शाहको सय दिन पुरा भएको हो । 
मुख्यमन्त्री शाह माघ २६ गते नियूक्त भएका थिए भने फागुन २१ गते विश्वासको मत लिएका थिए । धनगढी खबरले उनको नेतृत्वको सरकारको सय दिनका कामहरुबारे केही समिक्षा पेश गरेको छ ।

मन्त्रीमण्डल विस्तार भएन

माघ २६ गते मुख्यमन्त्रीमा नियूक्त भएका कमलबहादुर शाहले २७ गते आफनो नेतृत्वमा दुई सदस्यीय मन्त्रीमण्डल विस्तार गरे । भौतिक पूर्वाधारमा नेपाली काँग्रेसका नेता प्रकाश देउवा र आर्थिक मामिलामा नेकपा एकीकृत समाजवादी पार्टीका नरेश शाहीलाई मन्त्रीको जिम्मेवारी दिए । 

त्यसयता मुख्यमन्त्री शाहले मन्त्रीमण्डल विस्तारमा जोड दिएनन् । मुख्यमन्त्री शाह प्रदेश भ्रमणमै व्यस्त भए । उनले बैशाखको तेस्रो सातादेखिमात्र मन्त्रीमण्डल विस्तारबारे चासो दिएका थिए । दुई पटक काठमाडौं धाएका मुख्यमन्त्री शाहले सय दिन पुरा भएपछिमात्र मन्त्रीमण्डललाई पूर्णता दिँदै छन् । ‘सकभर आजनै मन्त्रीमण्डलले पूर्णता पाउँछ । अहिले गठबन्धन दलहरुसंग वार्ता चलिरहेको छ’ मुख्यमन्त्री शाहले भने ।

प्रदेश सभा बैठक अन्त्यमा ढिलाई

सुदूरपश्चिम प्रदेश सभामा फागुन २१ गते मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएपछि सभा सञ्चालन हुन सकेको छैन् । २०७९ पुस १८ गते दोस्रो प्रदेश सभाको प्रथम बैठक शुरु भएको थियो । त्यसयता सभामुख, उपसभामुख चयन र मुख्यमन्त्रीलाई विश्वासको मत दिने लगायत प्रदेश सभाको उपलब्धी हो ।

सुदूरपश्चिम प्रदेशको मन्त्रीमण्डल विस्तार नहुँदा हिउँदे अधिवेशन अन्त्य, बजेट अधिवेशनको सुरुवात तथा विषयगत समितिले पनि पूर्णता पाउन सकेको छैन् । सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सरकारले आर्थिक ऐन पहिलो संशोधन विधेयक दर्ता गराएको छ । तर, सो विधेयक पनि विषयगत समिति नबन्नु र बैठक सञ्चालन नहुनुले दर्तामै सिमित बनेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा विद्युतिय सवारी साधनबाट पनि कर असुल गर्न सक्ने गरि सो विधेयक प्रदेश सभामा दर्ता गराएको हो ।

पार्टीकी केन्द्रिय सदस्य प्रमुख अतिथि

वैशाखको पहिलो साता सुदूरपश्चिम विश्वविद्यालयले प्रदेश सरकार र विभिन्न  संघ संस्थासँगको समन्वयमा आयोजना गरेको मानसखण्ड सम्मेलनमा मुख्यमन्त्री अतिथि थिए भने नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डाक्टर आरजु राणा देउवालाई प्रमुख अतिथि थिए । धनगढीको सोराई पार्टी प्यालेसमा आयोजना गरिएको मानसखण्ड सम्मेलन समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डाक्टर आरजुलाई बनाएपछि मर्यादाक्रमबारे मुख्यमन्त्री शाहले ध्यान दिएनन् ।

उनी प्रमुख अतिथि भएको समापन समारोहमा भारतीय जनता पार्टी९भाजपा० का विदेश विभाग प्रमुख विजय चौथाइवाले विशिष्ट अतिथि थिए ।  नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम अनुसार मुख्यमन्त्री ८ औँ स्थानमा हुँदा प्रतिनिधिसभा सदस्यलाई १० औँ स्थानमा राखिएको छ । 

सम्पन्न नहुँदै भवन उद्घाटन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु सम्पन्न नभएका भवन उद्घाटन गर्नमै व्यस्त बनेका छन् । बैशाख ११ गते मुख्यमन्त्री कमलबहादुर शाहले बुढीगंगा वडा नम्बर ७ मा निमार्णाधिन अवस्थामा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन समुदघाटन गरेका थिए । सो भवन विगत ४ वर्षदेखि सम्पन्न हुन सकेको छैन् ।

बुढीगंगा ७ मा सञ्चालनमै नआएको वर्षौदेखि निर्माण पुरा नभएको र ब्यक्तिको जग्गामा निर्माण गरिएकाले विवादित अवस्थामा रहेको भवनको मुख्यमन्त्री शाहले उद्घाटन गरेको नगरप्रमुख रामबहादुर बाँनियाले बताए । उनले भने –‘ठेकेदारलाई भवन छिटो सम्पन्न गर्न दबाब दिँदा समेत काम हुन सकेको छैन् । एकाएक मुख्यमन्त्रीलाई बोलाएर भवनको उदघाटन गरियो । भवन पालिकालाई हष्तान्तरण गरिएको छैन् ।’

बजेट खर्च सुस्त

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बैशाखसम्मको बजेट खर्च प्रतिशत झण्डै ३७ प्रतिशत पुगेको छ । प्रदेश सरकारको कुल बजेटमध्ये चालु तथा पुजिगत गरि वैशाखसम्म ३६ दशमलब २९ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश सरकारले दुई महिनाभित्र ६३ दशमलब सात प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था रहेको छ ।

कछुवा गतिमा रहेको प्रदेश सरकारको बजेट खर्चमा सबैभन्दा बढी खर्च चालुतर्फनै रहेको छ । चालुतर्फ विनियोजित कुल बजेटको ४३ दशमलब ८७ र पुँजिगत तर्फ ३२ दशमलब ८९ प्रतिशत बजेट खर्च भएको कार्यालयले जनाएको छ ।

सुधार कार्यदलको प्रतिवेदन कहिले ?

सुदूरपश्चिम प्रदेशको शिक्षा तथा स्वास्थ्य सुधारका लागि प्रदेश सरकारले कार्यदल गठन गरेको छ । प्रदेशको शिक्षा क्षेत्रका लागि डाक्टर हेमराज पन्त र स्वास्थ्य क्षेत्रको सुधारका लागि डाक्टर गणेशबहादुर सिंहको संयोजकत्वमा कार्यदल गठन गर्ने चैत १ गतेको मन्त्रीपरिषद बैठकले निर्णय गरेको थियो ।  

प्रदेशका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले कार्यदलले एक महिनाभित्र प्रतिवेदन तयार गरि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पेश गर्ने निर्णयमा उल्लेख रहेको बताए । मुख्यमन्त्री शाहले सय दिनमा भएका प्रगति पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरे । सो विज्ञप्तीमा भनिएको छ –‘शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको समस्या समाधान गर्न आवश्यक नीति तथा कार्यक्रम तय गर्न विशेषज्ञ सम्मिलित कार्यदल गठन भइ कार्य भइरहेको छ ।’ 

स्वास्थ्य सुधार कार्यदलका संयोजक डाक्टर गणेशबहादुर सिंहले भने –‘हाम्रो समितिमा सदस्यहरु कम छन् । थप्न भन्दा पनि ध्यान दिएको छैन् । हामीले आन्तरिक रुपमा अध्ययन गर्ने कार्य भइरहेको छ । सदस्यहरु थप भएपछि प्रदेश भरीका स्वास्थ्य संस्थाहरुसंग बुझेर प्रतिवेदन तयार गरिने छ ।’

खेलाडीले पाएनन पुरस्कार राशी

सुदूरपश्चिम प्रदेश सरकारले आइसिसि यु–१९ विश्वकपमा छनौट भएको नेपाली टोलीमा रहेका सुदूरपश्चिम प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको थियो । चैत २२ गतेको मन्त्रीपरिषद बैठकले प्रदेशका खेलाडीहरुलाई सम्मान गर्ने निर्णय गरेको थियो । प्रदेशका खेलाडीलाई एक लाख तथा अफिसियललाई जनही ५० हजारका दरले सम्मान स्वरुप पुरस्कार प्रदान गर्ने निर्णय भएपनि खेलाडीले अहिलेसम्म पुरस्कार राशी पाएका छैनन् ।

मुख्यमन्त्रीको सय दिने प्रगतिमा भनिएको छ –‘खेलाडीलाई एक लाख तथा अफिसियललाई ५० हजारका दरले सम्मान स्वरुप पुरस्कार प्रदान गरिएको छ ।’ तर, पुरस्कृत हुने सूचिमा रहेका खेलाडीहरुले अहिलेसम्म प्रदेश सरकारबाट रकम नपाएको बताएका छन् ।  मुख्यमन्त्री शाहले सार्वजनिक गरेको सय दिने प्रगति प्रतिवेदनमा अधिकाँस विगतकै सरकारबाट भएका गतिविधिहरु समेटिएका छन् ।