सुदूरपश्चिम सरकारको १०० दिन घुमघाममै बित्योः पूर्व मुख्यमन्त्री रावल
2023/05/19, 7:19
 
ss

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले १०० दिन घुमघाममै बिताएको टिप्पणी गरेका छन्। एमाले संसदीय दलले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमुख्यमन्त्री समेत रहेका रावलले घुमघाममै दिन बिताएको भन्दै जनपक्षीय काम नभएको गुनासो गरे।

‘मुख्यमन्त्री जीले पत्रकार साथीहरुलाई १०० दिनमा काम गरे भनेर बिहानै बोलाएर लामै फेहरिस्त बाड्नुभएछ । मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने सरकारले यो काम गरे, त्यो काम गरे भन्दैमा कसले पत्याउँछ रु’ रावलले भने, ‘यो सरकारका मुख्यमन्त्री र मन्त्रीहरु घुमघाममै ठीक्क छन्।’रावलले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजन बाहेक तीन महिनासम्म प्रदेशसभालाई कुनै विजनेश नै दिन नसकेको बताए।

मन्त्रिपरिषद्लाई पूूर्णता दिन नसक्नु प्रदेश सरकारको पहिलो असफलता भएको बताउदै उनले सरकारका एक सय दिन उत्साहविहीन र निराशावादी रहेको उल्लेख गरे। आफूहरुकै दबाबमा बजेट निर्माणका सम्बन्धमा स्थानीय तहबाट योजना छनौटको प्रक्रियाको थालनी गर्नु राम्रो पक्ष भएको उनको भनाइ छ।

‘सरकारले पूर्णता पाउन सकेको छैन, उत्साहविहीन र निराशा बाहेक केही छैन। जनताले विकासको प्रत्याभूति गर्न पाएका छैनन्,’ रावलले भने, ‘प्रदेशसभालाई विजनेश दिन सकेको अवस्था छैन, ऐन कानून निर्माणमा ध्यान छैन । मुख्यमन्त्री र मन्त्रीहरु राज्यको पैँसामा घुमफिरमा मात्र व्यस्त देखिन्छन् । यो सरकार असफल देखियो ।’