मन्त्रालय भागबन्डा टुङ्गो लगाउन बसेको बैठक निष्कर्ष विहीन, भोली टुङ्गो लगाइने
2023/05/19, 7:21
 
ss

सुदूरपश्चिममा मन्त्रालय भागबन्डा टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको कांग्रेस ,माओवादी, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक मन्त्रालय बिषयमा सहमति नभएपछि भोलीसम्मका लागी स्थगीत गरिएको हो।

मुख्यमन्त्री कमल बहादुर शाहले आजै सुदूरपश्चिम प्रदेशमा सरकार बिस्तार गर्ने तयारी गरेका थिए । माओवादी संसदीय दलका नेता खगराज भट्टले भोली बिहान १० बजे शपथ ग्रहण गर्ने गरि सत्ता गठबन्धनको बैठक सकिएको जानकारी दिए। सत्ता गठबन्धनका दलहरू बिच मन्त्रालयका बिषयमा सहमति नभएपछि आज सरकार विस्तार हुन नसकेको बताए। नागरिक उन्मुक्तिले सामाजिक विकास र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दाबी गरेको छ। यस्तै, नेकपा माओवादी केन्द्रले पनि सामाजिक विकास मन्त्रालयमा दाबी गरेकाले भागबन्डा मिलाउन बैठक बसेको थियो।

माओवादीले र नागरिक उन्मुक्तिले २र२ र नेपाली कांग्रेसले १ मन्त्रालयको दाबी गरिरहेको छ। चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न सकेको छैन । नागरिक उन्मुक्तिलाई १ मन्त्रालयमा मनाउने बिषयमा छलफल भएको थियो। उनीहरुले यस बिषयमा छलफल गर्ने बताएर बैठकबाट निस्किएका थिए। उनीहरुले भोली बिहान सम्म आन्तरिक छलफल गर्ने छन् । एक मन्त्रालयमै सरकारमा सहभागी हुने कि सरकारमा नजाने भन्ने बिषयमा उनीहरुले निर्णय गर्ने जनाइएको छ ।

उनीहरुको सहमति भएमा भोली तीन दलबाट नभए दुई दलबाट मन्त्री नियुक्त हुने छन्। माओवादी केन्द्रले पाउने २ मन्त्रीमा सहमति भइसकेको छ। रमेश धामी र झपट साउद मन्त्री बन्ने पक्का छ । नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने निर्णय भइसकेको छ । नेपाली कांग्रेसले पृथ्वीबहादुर सिंहलाई मन्त्री बनाउने सम्भावना रहेको बताइएको छ। सुदूरपश्चिममा अहिले चार मन्त्रालयमा मन्त्री विहीन छन्।