को-को बन्लान् सुदूरपश्चिम सरकारका मन्त्री ?
2023/05/20, 2:37
 
ss

सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले आज सरकार विस्तार गर्ने भएका छन् । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सहमति जुटाउन समय मागेपछि शुक्रवार हुने भनिएको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तारको काम शनिवार गर्ने भनेर रोकिएको थियो।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको कांग्रेस ,माओवादी, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक मन्त्रालय बिषयमा सहमति नभएपछि आजसम्मका लागी स्थगीत गरिएको हो । नागरिक उन्मुक्ति पार्टीले आज १० बजे सम्मका लागि समय माग गरेपछि शुक्रबार सरकार विस्तार हुन नसकिएको हो। नागरिक उन्मुक्तिले शनिवार बिहान १० बजेसम्मको समय मागेको बताएपनी अहिलेसम्म कुनै निर्णय भैसकेको भने छैन्।

उन्मुक्तिको निर्णयपछि मन्त्रिपरिषद् विस्तार हुनसक्ने बताइएको छ। मुख्यमन्त्री कमल बहादुर शाहले आजै सरकारलाई पूर्णता दिने दाबी गरेका छन् । मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् विस्तार गरेमा वाँकी रहेका चार मन्त्रालयमा मन्त्री नियुक्त गर्ने छन् । माओवादीले र नागरिक उन्मुक्तिले २र२ र नेपाली कांग्रेसले १ मन्त्रालयको दाबी गरिरहेको छ । चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न सकेको छैन ।

सामाजिक विकास मन्त्रालयमा माओवादीबाट झपट साउद र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा माओवादीबाटै रमेश धामी मन्त्री बन्ने करिब टुङ्गो लागिसकेको छ । साउद अछामबाट र धामी कैलालीबाट निर्वाचित सांसद हुन् । माओवादीकी गीता देवी माल राज्य मन्त्रीमा नियुक्त हुने भनिएपनी मन्त्रालय भने अझै निर्धारण भइसकेको छैन । यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री बन्ने करिव निश्चीत जस्तै देखीएको छ । नागरिक उन्मुक्ति पार्टीले लक्ष्मण किशोर चौधरीलाई पनि मन्त्री बनाउन सिफारिस गरेको छ ।

लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयमा मन्त्री नियुक्त गर्न संसदीय दलको कार्यालयले मुख्यमन्त्रीलाई सिफारिस गरेको भए पनि सामाजिक विकास मन्त्रालय माओवादीको भागमा परेपछि लक्ष्मण किशोर चौधरीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउन सक्ने सम्भावना रहेको छ । तर, कांग्रेसका पृथ्वी बहादुर सिंहलाई पनि मन्त्री बनाउने कांग्रेसले तयारी गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा नागरिक उन्मुक्तिका चौधरी र कांग्रेसका सिंह मध्ये एक मन्त्री बन्ने छन् ।

नागरिक उन्मुक्तिले १ मन्त्रालय र १ राज्य मन्त्री लिएर सरकारमा गएको अवस्थामा सिंह आन्तरिक मामिला मन्त्री बन्ने छन् । नागरिक उन्मुक्तिलाई सरकारमा ल्याउन कांग्रेसले उक्त मन्त्रालय आफूले नराख्न सक्ने सम्भावना पनि उत्तिकै छ । यस्तो अवस्थामा सिंह मन्त्री बन्न पाउने छैनन् । माघ २६ मा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माघ २७ गते कांग्रेसकै प्रकाश देउवालाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा र नेकपा एकीकृत समाजवादीका नरेश बहादुर शाहीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा नियुक्त गरेका थिए । मुख्यमन्त्रीमा नियुक्त भएका शाहले तिन महिना भन्दा बढी समय बित्दा समेत सरकारलाई पूर्णता दिन सकेका छैनन् ।