धनगढीकी डाक्टर शाह मृत्युः पूर्व प्रेमी प्रहरीको नियन्त्रणमा, प्रेमी डाक्टर फरार
2023/05/20, 2:43
 
dd

धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया डा. प्रसन्ना शाह मृत भेटिएको घटनाको अनुुसन्धानका लागि प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाहको मृत्यु प्रकरणमा धनगढीकै बिकल केसीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी  कुलदीप चन्दले मृतकका परिवारले ल्याएको किटानी जाहेरीका आधारमा शाहका पूर्व प्रेमी समेत रहेका केसीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।  उनका अनुसार केसी शनिबार बिहान आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका हुन् ।

यस्तै किटानी जाहेरीमा आत्महत्या दुरुत्साहन गर्न बाध्य पारेको भन्दै माया मेट्रो अस्पतालमा उनीसँगै कार्यरत डाक्टर सन्दीप भट्टराईलाई भने फरार छन् ।  प्रहरीकाअनुसार उनी मृतक शाहसँग प्रेम सम्बन्धमा थिए । मृतकका आफन्तले आत्महत्या दुरुत्साहन सम्बन्धी दुवै जना विरुद्ध किटानी जाहेरी ल्याएको बताउदै डीएसपी चन्दले दर्ताको प्रक्रियामा रहेको जानकारी दिए ।

उनका अनुसार घटनाबारे अनुसन्धान जारी छ । जिल्ला प्रहरी कार्यालयका एसपी देवेन्द्र पालले घटना प्रारम्भिक अनुसन्धानको चरणमा रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताए । माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाह बिहीबार बिहान आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।