कैलालीमा लागूऔषधमा संलग्न ३४१ जना पक्राउ, युवायुवतीको संख्या अधिक 
2023/05/20, 3:11
 
ss

लागुऔषध मुक्त परिवार, समाज र राष्ट्र निर्माण गर्न सर्वपक्षीय सहकार्य आवश्यक भएको बताइएको छ। धनगढीको सन्देश नेपाल पुनर्स्थापना केन्द्रमा भएको लागुऔषध दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सर्वपक्षीय सहकार्य हुनुपर्ने बताएका हुन्।

धनगढी उपमहानगरपालिकाको सहयोगमा कटक भण्डारी फाउन्डेसनले आयोजना गरेको सचेतना कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुँवरले व्यक्ति दुर्व्यसनमा फस्दा परिवारले दुःख पाउने र अपहेलित भएर बस्नुपर्ने बताएका छन्। उनले कैलाली उद्योग वाणिज्य संघ लागुऔषध विरुद्ध सहकार्य गर्न तयार रहेको बताएका छन्।

कार्यक्रममा योग गुरू सभाष मुस्कानले नियमित योग, ध्यान, व्यायाम र प्रणायामले स्वस्थ्य मन र तन हुने बताएका छन्। उनले लागुऔषधको दुर्व्यसनबाट छुटकारा पाउन योग र प्रणायामले आत्मविश्वास बढाउने बताएका छन्। जिल्ला प्रहरी कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले कैलालीमा लागुऔषध प्रयोगकर्ताको संख्या देशभरमै बढी रहेको बताए।

उनले चालु आर्थिक वर्षको बैशाखसम्म २२८ जनालाई मुद्दा दायर गरिएको र ३४१ जना पक्राउ परेको बताए। कैलालीको धनगढी भारतसँग जोडिएकाले दैनिक लागुऔषध प्रयोगकर्ता र ओसारपसारमा संलग्न व्यक्ति पक्राउ पर्ने गरेका प्रहरी निरीक्षक बस्यालले बताए। ‘कैलालीमा लागुऔषध प्रयोगकर्तामा युवायुवतीको संख्या बढी छ,’ उनले भने, ‘देशभरमै कैलालीमा बढी मुद्दा दर्ता र पक्राउ पर्नेको संख्या बढी देखिन्छ।’

कार्यक्रममा आत्मविश्वासले लागसऔषध दुर्व्यसनबाट सधैंका लागि मुक्त हुने सकिने डाक्टर कृष्णबहादुर बोहराले बताएका छन्। उनले लागुऔषध दुर्व्यसन समाजमा भुसको आगो झै सल्किएकाले सबैको सामुहिक प्रयास र व्यक्तिको उच्च मनोवलबाट लागुऔषधको कुलतबाट बच्ने र बचाउन सकिने बोहराले बताएका छन्।

वडा नम्बर २ मा रहेको सन्देश नेपाल पुनर्स्थापना गृहमा भएको कार्यक्रममा वडा अध्यक्ष धर्मराज ओझाको पनि सहभागिता रहेको थियो। वडा अध्यक्ष ओझाले वडा नम्बर २ मा दुर्व्यसनीको संख्या बढी भएकाले दुर्व्यसन विरुद्ध सबै वडावासीले लाग्नुपर्ने बताएका छन्। ‘वडा नम्बर २ मा  लागुऔषध दुर्व्यसनको प्रकोप छ। हामीले दुर्व्यसन विरुद्ध कार्यक्रम पनि गरिरहेका छौँ,’ उनले भने, ‘सबैले आ(आफ्नो क्षेत्रबाट लागुऔषधको सेवन र ओसारपसार विरुद्ध लाग्न जरुरी छ।’

कार्यक्रममा युवा समाजसेवी वीरबहादुर महराले विद्यालय, कलेज र समुदायमा लागुऔषध विरुद्ध सचेतना फैलाउनुपर्ने बताए। लागुऔषधकै स्रोतमा प्रहार हुने गरी सचेतना फैलाउनुपर्ने कुरामा महराले जोड दिए। कार्यक्रममा पत्रकार दिनेश विष्टले सञ्चार माध्यममा लागुऔषध विरुद्धका विषयवस्तुको उठान हुन नसकेको बताएका छन्।

उनले दुर्व्यसन विरुद्ध मिडियाले प्रभावकारी भूमिका खेल्न नसेको बताउँदै सामान्य रिपोर्टिङमा मात्रै सिमित रहेको बताएका छन्। मिडियाले लागुऔषध नियन्त्रण गर्ने मिसनका साथ समाचार सामग्री तयार गर्नुपर्ने दायित्व पूरा गर्नुपर्ने बताए। युवा समाजसेवी दिपेश बोहराले दुर्व्यसनमा एक पटक फेसे पनि सुधार सम्भव छ भन्ने प्रमाणित गरेर देखाउन सन्देश नेपाल पुनर्स्थापना गृहमा रहेका युवाहरूलाई आग्रह गरेका छन्। उनले दुर्व्यसन मुक्त भएर अन्यका लागि पनि प्रेरणाको स्रोत हुन सक्नुपर्ने बताएका छन्।

सन्देश नेपाल पुनर्स्थापना केन्द्रका सञ्चालक पवनकुमार सेरचनले आफूले गुजारेको जीवन कहालीलाग्दो भएको तर अहिलेको जीवन अरुका लागि पनि प्रेरणा बनेको बताएका छन्। उनले हिजो दुर्व्यसनी भएर परिवारलाई दुःख दिने मान्छे आज दुर्व्यसनमा फसेकाहरूलाई सुधार गर्न प्रयासरत रहदा परिवार निकै खसी रहेको बताए। सेरचनले दुर्व्यसनबाट मुक्त हुन सकिने बताउँदै दुर्व्यसनमा कुनै पनि व्यक्ति फस्न नाओस् भनेर विद्यालय तहबाटै सचेतना फैलाउनुपर्ने बताए।

कार्यक्रममा कटक भण्डारी फाउन्डेसनका उपाध्यक्ष पृथ्वी कुँवरले स्वागत मन्तव्य राखेका थिए।  फाउन्डेसनका अध्यक्ष गणेश भण्डारीले लागुऔषध विरुद्ध युवा लक्षित कार्यक्रम हुनुपर्ने बताए। उनले कटक भण्डारी फाउन्डेसनले विद्यालय, कलेज र समुदायमा लागुऔषध दुर्व्यसन विरुद्ध काम गरिरहेको बताए।