बझाङमा हिमपहिरोमा परेका ५ मध्ये २ जनाको मृत्यु
2023/05/22, 12:54
 
बझाङमा हिमपहिरोमा परेका ५ मध्ये २ जनाको मृत्यु

बझाङ - बझाङमा यार्चागुम्बा सङ्कलनका लागि गएकी २ जनाको मृत्यु भएको छ । आइतबार जिल्लाको सुर्मा गाउँपालिका र साईपाल गाउँपालिकाको सिमाना अन्तर्गत पर्ने धनसेरी हिमालक्षेत्रमा हिमपहिरो गएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार हिमपहिरोमा परेर सुर्मा गाउँपालिका-३ काँटेकी रामकोइला देवी बोहरा र जयपृथ्वी नगरपालिका–११ की रमिता धामीको मृत्यु भएको छ।रामकोइलाको शव सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याइएको छ। यस्तै हिमपहिरोमा परि मृत्यु भएकी रमिता धामीको शव गाउँलेले फेला पारेका छन्।

पहिरोमा परेर जयपृथ्वी नगरपालिका–११ चैनपुरका आकास धामी र सुर्मा गाउँपालिका–३ का बाबजी बोहरा घाइते भएका छन्। उनीहरुलाई सदरमुकाम ल्याउने प्रयास भइरहेको छ। हिमपहिरोमा पर्ने जयपृथ्वी नगरपालिका–११ की १४ वर्षीया जामती धामीको अवस्था भने अज्ञात रहेको छ।आइतबार बिहान ९ बजेतर्फ यार्चागुम्बा सङ्कलनका लागि गएका ५ जना हिमपहिरोमा परि बेपत्ता भएका थिए । बेपत्ताहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ भने सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वको टोली पनि परिचालन गरिएको छ ।