बझाङ हिमपहिरोमा परी बेपत्ता भएका ३ जना मृत भेटिए
2023/05/23, 3:44
 
बझाङ हिमपहिरोमा परी बेपत्ता भएका ३ जना मृत भेटिए

बझाङ - सुर्मा गाउँपालिकाको यार्चा संकलन क्षेत्र धानसेरी हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ। हिमपहिरोमा पुरिएका सुर्मा गाउँपालिका ३, काँटै गाउँकी ४० वर्षीया रामकोइला बोहरा, जयपृथ्वी ननगरपालिका ११, मयानाकी १८ वर्षीया रमिता धामी र १४ वर्षीया जामती धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो ११ बजेतिर आएको हिमपहिरोमा उनीहरू पुरिएका थिए । हिमपहिरोमा परेर रामकोइलाका श्रीमान् ४० वर्षीय बाबजी बोहरा र जयपृथ्वी ननगरपालिका ११, मयानाका १४ वर्षीय आकाश धामी घाइते भएका थिए । उनीहरूको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। सदरमुकामबाट गएको प्रहरीको टोली र स्थानीयले यार्चा संकलन क्षेत्रबाट शवहरू सदरमुकाम ल्याइसकेको र जिल्ला अस्पतालमा पोस्टमार्टम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेश अवस्थीले जानकारी दिए।