गेटा मेडिकल कलेजलाई अब शहीद दशरथ चन्द प्रतिष्ठानको रूपमा विकास गरिने
2023/05/29, 8:39
 
ss

कैलालीको गेटास्थित गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरिने भएको छ।सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।प्रकाशशरण महतले यस्तो बताएका हुन्।

उक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०० शय्याको अस्पताल यही वर्षदेखि सञ्चालनमा ल्याइने बताइएको छ। यसअघि धनगढी आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने घोषणा गरेका थिए। अर्थमन्त्री डाक्टर महतले प्रतिष्ठानको रूपमा विकास गर्ने भन्दै आगामी आर्थिक वर्षमा उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट सार्वजनिक गरेका छन्।

गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नभए शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा अघि बढाइने भएको हो। सञ्चालनको प्रारुप टुंगो लागेपछि अब छिट्टै सञ्चालन हुने बाटो खुलेको हो। कलेज निर्माणमा हालसम्म पाँच अर्ब ४५ करोड खर्च भइसकेको छ।सुदूरपश्चिम प्रदेशमा २०५६ मा मेडिकल कलेज सञ्चालन गर्ने पहल सुरु भएको थियो। तर अहिलेसम्म सञ्चालन भने हुन सकेको छैन् ।विसं २०५६ मा यसै ठाउँमा स्वास्थ्य आयुर्विज्ञान प्रतिष्ठान बनाउने पहल गरिएको थियो।

कलेज निर्माणकालागि जगतगुरु शङ्कराचार्यबाट गेटामा भवनसमेत शिलान्यास भएको थियो । विविध कारणले थप काम अघि बढ्न सकेन ।त्यसपछि सरकारले यसै ठाउँमा विसं २०६८ मा मेडिकल कलेज बनाउने निर्णय गरेको हो । झन्झटिलो र लामो प्रक्रियाका कारण कलेजका संरचना निर्माणको काम ढिलो सुरु भएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले यो कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रारुपमा सञ्चालन गर्ने भनेर जनाएका थिए । अहिलेका प्रधानमन्त्री ‘प्रचण्ड’ले स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने भनेका थिए ।