जग्गा किनेर उद्योग सञ्चालनको तयारीमै रहेका वेला  सैपाल ग्यास किनिएको हो–अध्यक्ष घिमिरे (भिडियो अन्तरवार्ता)
2020/07/02, 9:12
 
gass

देशभर छ वटा ठाउँमा ग्याँस उद्योग सञ्चालन गरिरहेको एभरेष्ट गु्रपले कैलालीको अत्तरियामा थप अर्को उद्योग सञ्चालनमा ल्याएको छ । गोदावरी नगरपालिका–१, स्थापना गरिएको सैपाल ग्याँस उद्योग सञ्चालनमा आएसँगै उत्पादित सिलिण्डर बजार पठाउन थालिएको छ । तत्कालका लागि ४० वटा डिलर मार्फत सिलीण्डरहरु बजारमा पठाउन सुरु गरिएको सैपाल ग्याँस प्रालिका प्रस्तावित अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । सञ्चालनको तयारीमा रहेको यो उद्योग यस अघिका पाँच जना सञ्चालकबाट एभरेष्ट गु्रपले हालै किनेको हो । १८ करोडमा किनेको उद्योगको लगानी बढाएर अहिले ३० करोड पु¥याइएको प्रस्तावित अध्यक्ष घिमिरेले जानकारी दिए ।

दैनिक १० हजार वटा सिलिण्डर ग्याँस उत्पादन क्षमता रहेको यो उद्योग ४३ कठ्ठा जमिनमा फैलिएको छ । यहाँ ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्  । आवश्यकता परे दैनिक ८ घण्टाभन्दा बढी सञ्चालन गरे उत्पादन अझ बढ्ने बताइएको छ । सुदूरपश्चिमका नौ वटै जिल्ला, कर्णाली प्रदेशका १० जिल्ला र ५ नम्बर प्रदेशका दुई जिल्ला उद्योगको सेवा क्षेत्रको रुपमा रहने अध्यक्ष घिमिरेले बताए ।  सुदूरपश्चिममा ग्याँस उद्योगको सबैभन्दा बढी आवश्यकता रहेको पहिचान गरेर उद्योग स्थापनाका लागि तयारी थालेकोमा सञ्चालनको तयारीमा रहेको उद्योग विक्रीमा रहेको जानकारी पाएपछि त्यही किनिएको घिमिरेले खबरकुञ्जसँगको कुराकानीमा बताए । सैपाल उद्योग रहेको भन्दा केही पर नै जग्गा किनेर ग्यास उद्योग स्थापनाका लागि निर्माणको काम भईरहकै वेला यो ग्यास विक्रीमा रहेको थाहा पाएपछि अर्को उद्योग स्थापना गर्नुभन्दा यसैलाई किनिएको उनले बताए । 

२०७२ सालमा कम्पनी दर्ता भएर उद्योगले नेपाल आयल निगमबाट गत मंसीरमा फाइनल सप्लाइको अनुमति पाएको थियो । उद्योगले पहिलो वर्ष ५६ करोडको कारोबार गर्ने र करिब सात करोड रुपैयाँ राजस्व भुक्तानी गर्ने घिमिरेले बताए । सैपाल ग्याँस उद्योगले भारतीय गौरीफण्टा नाका भएर भारतबाट एलपीजी आयात गर्नेछ । यो सहित देशका सात ठाउँमा ग्याँस उद्योग सञ्चालन गरेको एभरेष्ट ग्रुपले १७ लाख सिलिण्डर बजारीकरण गरेको छ । अहिले देशभर मासिक करिब २७  लाख सिलिण्डर खपत हुने गरेकोमा एभरेष्ट गु्रपले मात्रै मासिक १० लाख सिलिण्डर उत्पादन र बिक्री वितरण गर्दै आएको सैपाल ग्यास प्रालिका प्रस्तावित अध्यक्ष घिमिरेले बताए ।

सैपाल सञ्चालनमा आएसँगै सुदूरपश्चिममा ग्याँस उद्योगको संख्या दुई पुगेको छ । सेवामुखी व्यवसाय भएकाले उपभोक्ताको सुविधालाई ध्यानमा राखेर दुर्गम क्षेत्रमा पनि ग्याँस सिलिण्डर पु¥याइने कम्पनीले जनाएको छ । पेट्रोलियम डिलर्स एशोसिएसन र एलपी ग्याँस उद्योग संघको राष्ट्रिय अध्यक्षको रुपमा काम गरिसकेका घिमिरेले आफू ३१ वर्षदेखि पेट्रोलियम व्यवसाय गर्दै आएको बताए । उनी नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पनि हुन् ।