टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालकको घरमा पुगे रेशम र रञ्जिता
2023/05/30, 3:09
 
टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालकको घरमा पुगे रेशम र रञ्जिता

कैलाली - नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं मन्त्री रञ्जिता श्रेष्ठ र नाउपाका संरक्षक रेशम चौधरीले टिकापुर घटनामा मारिएका अढाई वर्षीय बालकको अभिभावलाई भेटेका छन् । १६औं गणतन्त्र दिवसमा आम माफी पाएका रेशमले कैलाली पुगेलगत्तै अढाई वर्षीय बालकका अभिभावकलाई भेटेका हुन्।

स्व. टेकबहादुर साउद टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक हुन् । उनीहरू साउदका अभिभावक भेट्न पुगेका हुन् । साउदको अभिभावकलाई रेशमले घटनाको सत्यतथ्य बाहिर ल्याउन आफूले पनि पहल गर्ने बताए । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दा धेरै तथ्य बाहिर आउने भन्दै सरकारलाई उक्त प्रतिवेदन सार्वजनिक गर्न समेत आग्रह गरेका हुन् ।

हिजो रिहा भएलगत्तै चौधरीले बालक सहित अन्य प्रहरी अधिकारीहरूले पनि न्याय पाउनु पर्ने बताएका थिए। त्यसको लागि उच्च स्तरीय आयोग बनाउनु पर्ने उनको माग छ । उनले टीकापुर घटना पहिचानको आन्दोलनका क्रममा भएको भन्दै यसलाई राजनैतिक ढङ्गबाट हल गरिनु पर्ने बताउँदै आइरहेका छन् । रेशम पत्नी रन्जिता सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचन हुँदै हाल मन्त्री छिन् ।आज उनले पनि सरकारले उक्त घटनामा सहादत प्राप्त गरेकाहरुलाई न्याय दिनु पर्ने बताएकी हुन् । रन्जिता सुरुबाटै उनीहरूले न्याय पाउनु पर्ने र टिकापुर घटनाको तथ्य बाहिर आउनु पर्ने बताउँदै आइरहेकी थिइन् । २०७२ भदौ ७ गते आन्दोलनका क्रममा अढाइ वर्षका साउद सहित ८ प्रहरीको ज्यान गएको थियो ।