रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनवाइ हुँदै
2023/05/31, 2:18
 
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनवाइ हुँदै

धनगढी - टीकापुर घटनाका दोषी ठहर पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदै छ। शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो।

शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन्।उक्त घटनामा श्रीमान गुमाएकी शारदाले रिट दर्ता गराएकी हुन्। सरकारले जेठ १५ गते गणतन्त्र दिवसको दिन पारेर चौधरीको सजाय माफी दिएको थियो।कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका चौधरीलाई रिहाई गर्ने निर्णय संविधान र विद्यमान कानुन विपरीत भएको भन्दै कडायतले रिट पेस गरेकी थिइन्।

हत्याकाण्डका मुख्य योजनाकारका रुपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो। तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिए पछि उनी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा हुन पुगेका थिए। अदालतको फैसला अनुसार थप १४ वर्ष जेल बस्नु पर्नु भए पनि आममाफी पछि सो कैद मिनाहा भएर उनी निस्कन सफल हुन पुगेका हुन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चौधरीलाई रिहा गरिदिए पछि तीव्र सन्तुष्टि जनाउँदै बोहरा पत्नी शारदा सर्वोच्च अदालत गएकी हुन्। नयाँ संविधान जारी हुन अगाडी थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक बालकसहित सात सुरक्षाकर्मीसहित आठ जनाको बीभत्स हत्या गरिएको थियो।