प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान
2023/05/31, 2:22
 
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४ दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। 

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड भारत गएका हुन्। परराष्ट्र मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनमार्फत् प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिएको थियो। 

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतसँग दीर्घकालीन उर्जा व्यापारका विषयमा सम्झौता हुने बताएका छन्।  भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायत कार्यसूची तय भएको मन्त्री साउदले जानकारी दिए। 

परराष्ट्रमन्त्री साउदका अनुसार दीर्घकालीन रूपमा बिजुलीको व्यापार गर्न सकियोस् भन्ने बारेमा प्रधानमन्त्रीको भ्रमणका क्रममा छलफल हुने र एउटा निष्कर्ष निस्कने विश्वास छ। यस्तै, महाकाली नदीमा नेपाल र भारत जोड्ने मोटरेबल पुल तथा केही झोलुङ्गे पुल निर्माणका बारेमा पनि सहमति हुनेछ। 

नेपाल र भारतका बीचमा रहेको व्यापार घाटालाई कम गर्ने तथा कृषि उपजलाई विना अवरोध भारतीय बजारमा प्रवेश गराउने विषयमा पनि महत्त्वपूर्ण सहमति गर्ने तयारी छ। उच्च राजनीतिक तहमा विश्वासको वातावरण तयार पार्दै सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने सवालमा भारत भ्रमण फलदायी हुने विश्वास लिइएको परराष्ट्रमन्त्री साउदको भनाइ छ। 

उद्योगी व्यवसायीका बीचमा रहेका समस्या समाधानका लागि प्रधानमन्त्रीको उपस्थितिमा अन्तरक्रिया एवं छलफल गर्ने कार्यक्रम तय भएको छ।  

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल गर्नेछन्। भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले नेपाली राजदूतावासमा नेपाली समुदायसँग छलफल समेत गर्नेछन्। 

भ्रमण दलमा मन्त्री, नेपाल सरकारका उच्च सरकारी अधिकारी, सञ्चारकर्मी, व्यवसायीलगायतको सहभागिता छ।