गेटालाई प्रतिष्ठान बनाउन नहुने भन्दै सडकदेखि सदनसम्म उठ्यो आवाज
2023/06/02, 2:13
 
ss

कैलालीको गेटामा मेडिकल विश्वविद्यालय बनाउने निर्णयबाट सरकार पछि हट्न नहुने भन्दै प्रदर्शन भएको छ। सरकारले गेटामा दशरथचन्द मेडिकल विश्वविद्यालय स्थापना गर्ने गत माघ २९ गते निर्णय गरेको थियो। तर जेठ १५ गतेको बजेट भाषणमा प्रतिष्ठान बनाउने भनेपछि विवाद उत्पन्न भएको हो। 

उनीहरूले मन्त्रिपरिषदकै निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै विद्यार्थी, राजनीतिक दल, कार्यकर्ता, सर्वसाधरण सडकमा आएका छन्।  गेटामा मेडिकल विश्वविद्यालयको ठाउँमा प्रतिष्ठान बनाउन खोजेको भन्दै उनीहरूले आन्दोलन सुरू गरेका हुन्।  गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितले बिहीबार अत्तरियामा एक घण्टा चक्काजाम गरेको थियो। मन्त्रिपरिषद्ले निर्णय गरेपछि नीति तथा कार्यक्रममा समेत समावेश भएपनि बजेटमा नसमेटिएपछि विरोध गर्न बाध्य भएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए। 

‘आफूले गरेको निर्णयबाट सरकार किन पछि हट्यो भन्ने हाम्रो प्रश्न हो, जबसम्म मेडिकल शिक्षा पढ्ने विद्यार्थीहरू सेतो एप्रोन लगाएर पढ्न पाउँदैनन्, तबसम्म हामी आन्दोलन गरिरहने छौं, हाम्रो आवाज सडकबाटै सरकारले सुन्नुपर्छ,’ उनले भने,‘मन्त्रिपरिषदले जे निर्णय गरेको छ त्यसैलाई कार्यान्वयन गर्नुपर्छ।’ नीतिगत रूपमै सरकारलाई प्रभावमा पारेर माफियाहरूले मेडिकल विश्वविद्यालय बन्नबाट रोक्न खोजेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षिराम आचार्यले बताए। 

यो विषय सुदूरपश्चिम प्रदेश सभामा पनि प्रवेश पाएको छ। सांसदहरूले सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका छन्।  प्रदेशसभा सदस्य प्रकाश बमले मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णयबाट पछि हटेसँगै केन्द्र सरकारको सुदूरपश्चिमप्रतिको धारणा प्रष्ट भएको बताए।  अर्का प्रदेश सभा सदस्य धर्मराज पाठकले पनि अर्बौ‌ं लगानी गरेको संरचना अलपत्र पारेर के गर्न खोजेको भन्ने प्रश्न गरेका छन्। 

‘अर्बौंको संरचनालाई अलपत्र पार्ने काम सरकारले गरिरहेको छ, यहाँ लामो समयदेखि विश्वविद्यालय बनाउनुपर्छ भन्ने हामीले माग राख्दै आएका थियौं, सरकारले निर्णय पनि गर्‍यो। तर अहिले एक सय शैय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालन गर्ने भन्ने सरकारले बजेट भाषणमा भनेको छ, यस विषयमा सुदूरपश्चिम सरकारको धारणा के होरु हामीले यसलाई कुन रूपमा हेरेका छौं,’ उनले भने।

उनका अनुसार सुदूरपश्चिमलाई लामो समयदेखि राज्यले अन्याय र विभेद गरेपनि अहिले यस क्षेत्रका बासिन्दाले चित्कित्सा क्षेत्रमा अध्ययन र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार प्राप्त गर्ने थिए। तर उक्त अधिकार बञ्चित गर्ने काम अहिलेको सरकारबाट भइरहेको उनको आरोप छ।  सुरूमा गेटामा मेडिकल कलेज बनाउने भनेर २५ वर्षदेखि कुरा चल्दै आएको थियो। देशभर २५ बढी स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदा पनि सुदूरपश्चिममा एउटा पनि छैन।