सुदूरपश्चिम प्रदेश सरकारद्धारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन ढिलाई
2023/06/04, 6:54
 
dd

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउनमा ढिलाई गरेको छ । दोस्रो कार्यकालका लागि नयाँ सरकार गठन भएपछिको पहिलो नीति तथा कार्यक्रम ल्याउनमा प्रदेश सरकारले ढिलाई गरिरहेको हो ।  सामान्यतया बजेट ल्याउनभन्दा १५ दिन अघि प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ । तर, प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे मिति तय गर्न सकेको छैन् ।

प्रदेश सरकार जेठ २३ देखि २५ गतेसम्म पर्यटकीय स्थल खप्तडमा आयोजना हुन लागेको प्रथम खप्तड अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलनमा व्यस्त हुँदा नीति तथा कार्यक्रम प्रस्तुत गर्नमा ध्यान दिन नसकेको सरकारकै प्रदेश सभा सदस्यहरु बताउँछन् ।  दोस्रो अधिवेशनको पहिलो बैठकमा सरकारले विनियोजन विधेयक पेश गरेको थियो । विनियोजन विधेयकमार्फत बजेटको सिद्धान्त तथा प्राथमिकता पेश भइ छलफल गरिएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता धर्मराज पाठकले सरकारको गति सुस्त रहेको बताए । उनले सरकारले समयमै गर्न सक्नु पर्ने सामान्य काममा भन्दा भ्रमणमै व्यस्त देखिने गरेको बताए ।  उनले भने –‘सरकारले नीति तथा कार्यक्रम समयमै सभामा प्रस्तुत गर्नुपर्ने हुन्छ । असार १ गते बजेट सभामा पेश हुन्छ । नीति तथा कार्यक्रम जति ढिलो सभामा पेश भयो त्यतिनै सभामा हुने छलफल समय कम हुन्छ ।’   उनले सरकारले पूर्णता नपाउनु, विषयगत समितिमा सभापति चयन गर्न नसक्नु लगायतले सरकार कुन गतिले अघि बढेको छ भन्ने देखाइरहेको बताए ।  नेता पाठकले भने— ‘सरकारले अहिले सम्म पूर्णता नपाएकै कारणले नीति तथा कार्यक्रम समयमै सार्वजनिक गर्न नसकेको हो ।’ 

नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश बमले प्रदेश सरकारको नीति तथा कार्यक्रम तयारी अवस्थामा रहेको बताउँदै –‘आउदो २५ गते भित्रमा सभामा प्रस्तुत हुने अपेक्षा लिएका छौं ।’   उनले भने— ‘मुख्यमन्त्रीको कार्यालयमा नीति तथा कार्यक्रम तयार भईरहेको छ । भोली हामी सदनमा बस्छौँ अनि छलफल गरेर सोही अनुरुप २५ गते भित्रमा सभामा पेश हुने छ ।’

नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले प्रदेश सरकारको समय अभाव तथा ब्यस्तताले नीति तथा कार्यक्रम प्रस्तुतमा ढिलाई भएको बताए । उनले भने— ‘नीति तथा कार्यक्रम अन्तिम चरणमा छ । सरकारको व्यस्तताले मिति तय हुन सकेको छैन । सकभर जेठ २४ गते पछि सभामा पेश भइ छलफलमा अघि बढ्छ ।’  सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले नीति तथा कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बनिरहेको बताए ।

उनले भने ‘नीति तथा कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट बनेर आउने भएकाले अबको दुई–तीन दिन भित्रमा सर्वजनिक गरिने छ ।  प्रदेश सभाको पाँचौ बैठकमा पनि नीति तथा कार्यक्रम प्रस्तुत हुने सम्भावना नरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रम प्रदेश सभामा प्रदेश प्रमुख देवराज जोशीले पेश गर्छन् । ‘अहिले मुख्यमन्त्री खप्तड सम्मेलनमा व्यस्त रहेकाले नीति तथा कार्यक्रम ल्याउनमा समय लाग्छ । २५ गतेपछि सभामा प्रस्तुत हुने छ’ उनको सचिवालयले भन्यो ।