दार्चुलामा पहिरो : महाकाली राजमार्ग अवरुद्ध
कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडी भई बहने नदीहरूमा आकस्मिक बहावको जोखिम
2023/06/23, 4:44
 
दार्चुलामा पहिरो : महाकाली राजमार्ग अवरुद्ध

कैलाली - दार्चुलामा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। वर्षाका कारण हिलोसहितको लेदो खस्दा राजमार्गको दार्चुला–गोकुलेश्वर सडकखण्डको महाकाली नगरपालिका–८ स्थित असिगाडामा सडक अवरुद्ध भएको हो। गएरातीको वर्षाले सडक माथिबाट पहिरो खस्दा आज बिहानैदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

सडक अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन ठप्प भएका छन्। अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अबरुद्ध सडक खुलाउनको लागि हेवी ईक्युपमेन्ट डिभिजन कार्यालयले प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

नदीहरूमा आकस्मिक बहावको जोखिम :- 

आगामी तीन दिन देशका नदीनालामा पानीको बहाव बढ्ने सक्ने भन्दै सतर्क रहन मौसम पूर्वानुमान छ। तीन दिन कैलाली कन्चनपुर सहित देशका १० जिल्लाका नदीनालामा बाढीको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान, बाँके, कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडी भई बहने केही साना तथा मझौला नदीहरूमा आकस्मिक बहावको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको हो। ती जिल्ला भई बहने नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै, अबका तीन दिन देशका अधिकांश प्रमुख तथा मझौला नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।