धनगढीमा महिलाको मृत्यु भएपछि आफन्तद्धारा प्रहरी कार्यालय घेराउ
2023/08/11, 3:22
 
धनगढीमा महिलाको मृत्यु भएपछि आफन्तद्धारा प्रहरी कार्यालय घेराउ

धनगढी - गर्भपतन गराउन क्लिनिक गएकी धनगढीकी एक महिलाको मृत्यु भएपछि आफन्तले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्। कैलालीको धनगढीमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकले जथाभावी औषधी खुवाउँदा वडा नम्बर १२ की ३४ वर्षीया प्रिती थापाको मृत्युपछि आफन्तहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका हुन्।

कैलाली प्रहरीका अनुसार अस्पताल लाइनमा रहेको उक्त क्लिनिकमा बिहिवार बिहान थापा गर्भपतन(क्यूरेट) गर्न गएकी थिइन्। उनलाई क्लिनिकले औषधी दिएको थियो। औषधी सेवनपछि उच्च रक्तस्राव हुन गई महिलालाई सेती अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ। मेडिकल सञ्चालक मध्येका एक जना गोदावरी नगरपालिका २ बस्ने २५ बर्षिय बिनोद जोशीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रिती थापाको मृत्युपछि फरार भएका सञ्चालक जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कुलदिप चन्दले बताए।औषधी सञ्चालकको बैधानिकता के हो ? उसको लापरवाही हो होइन, भन्ने लगायत विषयमा पिडीतहरुले जान्न चाहेको चन्दले बताए।घटनापछि मृतकका आफन्तले क्लिनिकले जथाभावी औषधि दिएपछि महिलाको मृत्यु भएको आरोप लगाएका छन्। उनिहरु मृतक प्रितीलाई न्याय माग्दै आन्दोलनमा उत्रिएका छन्,उनीहरुले प्रहरी कार्यालय अगाडी विरोध गर्दै सडक समेत अवरुद्ध गरेका छन्। दोषीलाई कारबाहीको माग गर्दै क्षतीपुर्तीको माग समेत गरेका छन् ।