कैलालीमा बाढीजन्य विपद्मा परेका विस्थापितको जनजीवन कष्टकर
2023/08/13, 10:26
 
कैलालीमा बाढीजन्य विपद्मा परेका विस्थापितको जनजीवन कष्टकर

धनगढी- कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिकामा नागरिकलाई समस्या भएको छ । गत सोमबारदेखि लगातार तिन चार परेको वर्षापछि आएको बाढीका कारण विस्थापितहरूको जनजीवन कष्टकर बन्दै गएको हो।

बाढीले कैलालीको भजनीमा सबैभन्दा बढी परिवार विस्थापित भएका छन् । भजनीमा बाढीका कारण २ हजार तीन सय ४२ परिवार विस्थापित भएका नौ सय बढी परिवार सडकमा बसिरहेका पालिकाले जनाएको छ। उनीहरुले पेटभर खान नपाउँदा तथा उचित बासको व्यवस्था नहुँदा जनजीवन कष्टकर बनेको हो। अन्नबाली जोगाउन र सुरक्षित स्थानमा ल्याउन नसकेका कतिपय विस्थापित चाउचाउको भरमा गुजारा गर्न बाध्य छन्।

भजनी नगरपालिकाका विस्थापितलाई छाक टार्न समस्या भएको छ। भजनीकी राजकुमारी चौधरीको परिवार तीन दिनदेखि हुलाकी सडकमा छ । उनीहरु बच्चासहित सडकमा छन् । सडकको बसाईं कष्टकर भएको उनले बताइन् । “तीन दिनदेखि पानीमात्र खान पाइएको छ, घरमा भएको सबै खाद्यान्न बाढीमा भिज्यो होला”, उनले भनिन्, “बोकेर ल्याउन पनि पाइएन, अब जानसक्ने अवस्था पनि छैन । यहाँ बच्चाहरु भोकले आत्तिएका छन् ।”छविराम पोखरेलको परिवार पनि तीन दिनदेखि सडकमा छ ।

गाउँ पूरै जलमग्न भएपछि पोखरेल र उनका छिमेकी ज्यान जोगाउन सडकमा आएका हुन् । “बाढी गाउँ पसेपछि ज्यान जोगाउन बस्तुभाउसहित सडकमा आयौँ”, उनले भने, “पहिल्यै बाढी आउनसक्छ भनेकाले भाग्न सक्यौँ, घर कुन अवस्थामा छ थाह छैन ।” नगरपालिकाले खाद्य तथा गैरखाद्य सामग्री सहयोगका लागि सरकारी, गैरसरकारी सङ्घ संस्था, निजी क्षेत्र, सहकारी र नागरिक समाजलाई अपिल गरेको छ। बाढीका कारण सो नगरपालिकामा सबैभन्दा बढी मानिस विस्थापित छन्। उनीहरूमध्ये केही व्यक्ति विद्यालय र सुरक्षित भवनमा बसेका छन् भने धेरै जसो हुलाकी सडकमा पुगेका छन्। विस्थापितहरूलाई अहिलेसम्म पानीबाहेक नगरपालिकाबाट केही पनि दिन नसकिएको नगर प्रवक्ता विक्रम चौधरीले बताए ।

भजनी नगरपालिकाको स्वास्थ्य शाखाले विस्थापित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन थालेको छ । स्वास्थ्यकर्मी सुरज केसीले प्रभावित क्षेत्रमा नागरिकलाई रुघाखोकी, झाडापखाला, खुट्टा पाकेका, एलर्जीको समस्या देखिएको बताए । “जहाँ जहाँ विस्थापित बसेका छन्, त्यहाँ हामीले शिविर स्थापना गरेर उपचार थालेका छौँ”, उनले भनिन्, “स्वास्थ्यकर्मी औषधिसहित खटेका छौँ ।”भजनी नगरपालिकाका प्रमुख केबल चौधरीले बाढी प्रभावितलाई सहजताका लागि उद्धारसँगै, उच्च स्थानमा बसोबासको व्यवस्था मिलाउने, खाना, पानीको व्यवस्था भइरहेको बताए ।बाढीका कारण दुई हजार ३४२ घरपरिवार प्रभावित भएकोमा एक हजार २४ परिवार विस्थापित भएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका विपत् व्यवस्थापन शाखाका अधिकृत विष्णुराज न्यौपानेले जसमध्ये सबैभन्दा बढी वडा नम्बर ३ र ८ का स्थानीय रहेको  बताए।