सुदूरपश्चिमका सात पहाडी जिल्लामा पेट्रोलिमय पदार्थको अभाव
2023/08/14, 5:13
 
सुदूरपश्चिमका सात पहाडी जिल्लामा पेट्रोलिमय पदार्थको अभाव

धनगढी - सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा पेट्रोलिमय पदार्थको अभाव भएको छ। प्रदेशको पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग विगत एक सातादेखि अवरुद्ध हुँदा सात पहाडी जिल्लामा पेट्रोलिमय पदार्थको अभाव भएको हो।

पहिरोका कारण कैलालीको गोदावरी नगरपालिका-४, बुढीतोला क्षेत्रको सडकखण्ड अवरुद्ध भएपछि पहाडी जिल्लामा डिजेल, पेट्रोल र एलपी ग्यासको अभाव भएको बताइएको छ । साउन २३ गते बिहान खसेको पहिरोले सडक अवरुद्ध हुनका साथै भासिएको छ। सडक अवरुद्ध भएको पाँच दिनपछि शनिबार मात्रै ट्र्याक खोलिए पनि हिलाम्मे सडकमा यातायात सेवा सञ्चालन हुन सकेको छैन।

तराईबाट पहाडी जिल्लामा पेट्रोलिमय पदार्थ ढुवानी गर्न सकिएको छैन्। विभिन्न जिल्लाका पेट्रोल पम्पहरू रित्तिन थालेका छन् ।त्यस्तै तरकारी पनि बजारमा लैजाने नसक्दा बारीमा नै कुहिएको छ ।तराई र पहाड जोड्ने मुख्य राजमार्ग एक सातासम्म अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्री ढुवानीमा पनि समस्या भएको व्यवसायीले बताएका छन् । यातायातका साधन सञ्चालन नहुँदा डिजेल र पेट्रोलको अभाव चुलिएको छ भने पहाडका किसानले उत्पादन गरेको तरकारी कुहिन थालेको छ।

पहाडी जिल्लाबाट तरकारी खरिद गरेर तराई झरेका ट्रकहरू सडकमै अलपत्र परेका कारण तरकारी कुहिएपछि खानीडाँडा र बुढीतोला क्षेत्रमा फालिएको ट्रक चालक दीपक भट्टले बताए। एकसातामा डिजेल र पेट्रोल बोक्ने ट्याङ्करले दुई वटा पेट्रोल पम्पमा आठ पटक तेल आसोर्ने गरेको बताइन्छ। चार पटक ट्याङ्कर आउँदा ४ हजार लिटर डिजेल र पेट्रोल आउने गरेको अमरगढी नगरपालिका-१ स्थित सहस्रलिङ्ग वीरबेतार आयल स्टोरका सञ्चालक राजु ऐरले बताए। तराई पहाड जोड्ने मुख्य राजगमार्ग अवरुद्ध भए पनि जिल्लाका अन्य सडक सञ्चालनमै रहेका छन्। उग्रतारा डडेलधुरा सार्वजनिक यातायात प्रालिका अध्यक्ष मानबहादुर साउदले जिल्लास्थित यातायातका साधन सञ्चालन भइरहेको जानकारी दिए । मुख्य राजमार्ग अवरुद्ध भएपछि समस्या देखिन थालेको छ।