भीमदत्तका वडाध्यक्ष कुट्ने एमालेका ७ जिल्ला कमिटी सदस्य निष्काशित
2023/08/16, 9:12
 
भीमदत्तका वडाध्यक्ष कुट्ने एमालेका ७ जिल्ला कमिटी सदस्य निष्काशित

कञ्चनपुर - भीमदत्त नगरपालिका-१८ का वडाध्यक्ष रविन्द्र देवकोटालाई कुटपिट गर्ने ७ जनालाई नेकपा एमाले कञ्चनपुरले निष्कासन गरेको छ। नेकपा एमाले कञ्चनपुरले जिल्ला कमिटी सदस्य कमल रोकायासहित ७ जनालाई पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको हो।

देवकोटामाथि सांघातिक आक्रमणका साथै पार्टी कार्यालयमा तोडफोड गरेको भन्दै रोकायासहित ७ जनालाई एमालेले निष्कासित गरेको जनाएको छ। पार्टी सदस्य समेत नरहने गरी निष्कासनमा पर्नेहरुमा जिल्ला सदस्यहरु रमेश भट्ट, राधाकृष्ण जोशी, केशव चन्द, प्रबिन बोगटी, रोहित कुँवर र नविन चन्द रहेका छन्। नेकपा एमाले कञ्चनपुरको पदाधिकारी बैठकले सो सांघातिक हमला संलग्न देखिएका अन्य सदस्य र युवा संघको समानान्तर गतिविधिमा संलग्नलाई कारबाही गर्ने अधिकार कार्यबाहक अध्यक्ष लक्ष्मी बुढालाई दिएको छ।

शनिबार दिउँसो युवा संघको १० औं जिल्ला अधिवेशनका क्रममा विवाद हुँदा असन्तुष्ट समूहले वडाअध्यक्ष देवकोटमाथि आक्रमण गरेको थियो। उनी निर्वाचन समितिमा खटिएका थिए। समितिको सूचना टाँस गर्दा देबकोटामाथि आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते देवकोटालाई धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना गरिए पनि त्यहाँबाट रेफर गरी काठमाडौं लगिएको छ।

देवकोटाकी आमा कमलाले कुटपिटमा संलग्न ८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएकी छन्। अझै उनीहरु पक्राउ परेका छैनन्। कुटपिटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ। युवा संघ कञ्चनपुरमा विवाद छ। एमाले पोलिट्ब्यूरो सदस्य तथा युवा फाँट प्रमुख महेश बस्नेत उपस्थित अधिवेशनले शनिबार दिनेश विष्टको नेतृत्वमा युवा संघको कमिटी गठन गरिएको थियो।असन्तुष्ट अर्को समूहले बिष्ट नेतृत्वको कमिटीको काउण्टरमा नविन चन्दको नेतृत्व समानान्तर कमिटी बनाएको छ।