धनगढी - थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरही पर्व आज मनाईदै छ । नाग पञ्चमीकै दिन मनाइने यस पर्वको उल्लास बढेको हो । नाग पञ्चमी तथा गरही पर्व भोलि भदौ ४ गते परेको हो । पश्चिम नेपालको थारु बस्तीमा गुरही पर्वको उल्लास बढेको छ ।
पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका साथै पछिल्लो समय काठमाडौँमा समेत भव्यताका साथ पर्व मनाउन थालिएको हो ।
गुरही भनेको एक किसिमको गाइने किरा हो । सोही किराको प्रतीकको रूपमा यो पर्वमा कपडाको पुतला, खेलौना बनाइन्छ । थारु बसोबास रहेका कतिपय स्थानमा यसलाई गुरही पर्व भन्ने गरिन्छ भने कतिपय ठाउँमा गुरिया पर्व पनि भनिन्छ ।
पर्वमा थारु समुदायका घरहरूमा घुघरी (चना, केराउ, मटरा, मकैको भुजा) तयार गरिन्छ । आफ्नै हैसियत अनुसार अन्य खानेकुरा पनि बनाइन्छन् । केटीहरू कपडाका रङ्गीचङ्गी कपडाका गरही बनाउने गर्दछन् । केटाहरू सोंटा वा केराको डाँठ तयार पार्छन् । साँझपख बालिका तथा युवतीहरू परम्परागत पोसाकमा आ–आफ्नो थालीमा गुरहीको प्रतिमा र भुटेका मकै वा केराउसहित गाउँका सीमा वा चोकमा जम्मा हुन्छन् । यसैबीच केटाहरू सोटा लिएर जम्मा हुन्छन् ।
जम्मा भएका बालिकाहरु गुरही फाल्छन् र केटाहरू सोंटा, कोर्राले पिट्छन् । केटीहरू गुरही फाल्ने बेला र केटाहरू पिट्ने बेलामा रोगब्याध नलागोस, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्दछन् । पिटिसकेपछि केटाहरूले केटीसँग घुघरी (भुटेका मकै) माग्छन् र प्रसादस्वरुप ग्रहण गर्दछन् ।कतिपय गाउँमा पिटिएका यी गुरही सडकमै चौराहामै छोडेर हिँडिन्छ भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि लाने गरिन्छ ।
यो पर्व बालबालिकाको सहभागिताबिना अपूर्ण मानिन्छ । यस पर्वलाई बाल पर्वको रूपमा समेत लिइन्छ । पर्वको प्रभावले गाउँ समाजबाट दुःख, कष्ट, रोग, व्याधि हट्ने जनविश्वास छ ।यसैबीच कैलाली कञ्चनपुरका थारु बाहुल क्षेत्रका स्थानीय तहले स्थानीय बिदा समेत दिएका छन् । भने थारु अधिकारवादी सङ्घ संस्थाले प्रदेश सरकारसँग माग माग समेत गरेको छ ।थारु समुदाय आबद्ध ६ संस्थाले एक विज्ञप्ति जारी गर्दै बिदा माग गरेका हुन् । थारु कल्याण कारिणी सभा कैलाली, सखी सञ्जाल कैलाली, थारु लेखक सङ्घ, राष्ट्रिय कलाकार मञ्च, थारु नागरिक समाज र थारु विद्यार्थी समाजले संयुक्त विज्ञप्ति जारी गर्दै बिदा माग गरेका हुन् ।गुरही थारु समुदायको शुरुवातको पर्व हो ।
यसको आफ्नै धार्मिक महत्व छ । थारु समुदाय अझै हिन्दु हो कि बौद्धिष्ट वहसको विषय छ । तथापि परापूर्वकालदेखि हिन्दू धर्मको आचरण व्यवहार गरेको हामी देख्छौं । गुरही पर्वलाई नागदेवतासँग जोडिनु पनि हिन्दू धर्मकै सम्बन्ध हो । धर्म आफैमा कुनै राम्रो न नराम्रो हुँदैन । मनको शान्ति र उच्च विचारले मनाउने पर्वहरुले मनको शान्ति र अमनचयन दिने गर्छ ।धर्मलाई राजनीतिक विषय बनाएर धार्मिक विचलन ल्याउनु उचित हुँदैन । गुरही पर्वलाई थारु संस्कृतिको धार्मिक पक्षसँग तुलना गर्दा बढी उपयुक्त हुन्छ ।यसको सामाजिक महत्व भन्नु नै सामुहिकता हो । गाउँघरमा थारु समुदाय प्रायः कृषि कार्यमा आवद्ध छन् । वर्षदिनलाई पुग्ने खेतबारीमा धान रोपिसकेपछि पर्ने यो पर्वले थकित मनलाई मेटाउने र शितलता दिने गर्छ । थारु समुदायमा चाडपर्वहरु जमेर मनाइने गरिन्छ ।