राहत सामाग्री बुझ्दै पहिरो पीडितले भने–‘हाम्रो उचित बासस्थानको व्यवस्था गरियोस्’
2023/08/28, 11:57
 
ss

 कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ दोगडाका स्थानीय आइते विष्ट त्रिपाल लिएर वन भित्र बसिरहेका छन् । साउन २२ गते परेको अविरल वर्षाका कारण उनको घरमा पूर्ण क्षति भएपछि वनभित्र बसोबास गरिरहेका हुन् । ‘पहिरोका कारण घर पूर्ण रुपमा क्षति भयो । बस्न अहिले यो हनुमान मन्दिर नजिक रहेको वनभित्र त्रिपालमा छु’ उनले भने –‘जग्गा पनि छैन । अब कहाँ गएर बस्ने होला चिन्ता जहिले लागिरहेको छ । हाम्रो समस्या कुनै सरकारले बुझेको छैन् ।’ उनले नजिकै स्थानिय सरकार भएपनि अहिलेसम्म केही राहत तथा क्षतिपूर्ति नपाएको गुनासो गरे ।

भ्यागुते पानि बस्दै आएकी सोवी विष्टको घर पनि पहिरोका कारण पूर्ण रुपमा क्षति भयो । सोही वनभित्र त्रिपाल लगाएर बस्दै आएकी विष्टले भनिन् –‘पहिरोले घर न घाँट बनायो । घरमा भएको सम्पूर्ण खाद्यान्न नष्ट गर्यो । अहिले त्रिपालमा खानाको व्यवस्था गर्न समेत समस्या भइरहेको छ ।’ उनले कुनै पनि सरकारले व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरिन् । ‘पहिरोले वर्षेनि घरपरिवारहरु विस्थापित हुनुपर्ने बाँध्यता रहेको छ । यसको दिगो व्यवस्थापन गरिनुका साथै हामीलाई उचित बासस्थानको सरकारले व्यवस्थापन गर्नुपर्छ ।’

सो वनमा आइते र सोवी जस्तै पहिरोका कारण आंशिक तथा पहिरोको जोखिममा रहेका घरपरिवारहरु बसोबास गर्दै आएका छन् । पहिरोका कारण विस्थापित परिवारलाई अहिले सम्म कुनै पनि सरकारले राहत तथा क्षतिपूर्तिको व्यवस्थापन नगरेको उनीहरुको गुनासो रहेको छ । स्थानिय, प्रदेश तथा संघ सरकारले उनीहरुको समस्यालाई ध्यान दिन नसकेको जनाइएको छ । पहिरोका कारण विस्थापित भएको लामो समय भइसक्दा समेत तीन तहकै सरकारले ध्यान नदिएपछि सोमबार गोदावरी नगरपालिकाका स्थानिय युवाहरुले आफनो खाजा खर्च कटाएर तथा व्यवसायीहरुसंग चन्दा संकलन गरि राहत सामाग्री वितरण गरेका छन् ।

एक लाख ५० हजार बराबरको राहत सामाग्री गोदावरी र चुरे क्षेत्रमा विस्थापित भएका घरपरिवारलाई वितरण गर्ने उनीहरुको योजना रहेको छ । युवा नेता विराज विष्टले भने ‘हामीले आफनो खाजा खर्च कटाएर, पकेटको पैसा र केही व्यवसायीहरुसंग सहयोग जुटाएर राहत सामाग्रीको व्यवस्था गरेका छौं । एक लाख ५० हजार संकलन भएको छ । यो पैसाले गोदावरी तथा चुरेका पहिरो पीडितको राहतको व्यवस्थापन गरिने छ ।’ 

सोमबार हनुमान मन्दिर नजिक वनमा रहेका आठ जना पहिरोपीडितलाई खाद्यान्न, सावुन, तेल, झुल, म्याट लगायतका सामाग्री हष्तान्तरण गरे । राहत सामाग्री बुझ्दै आइतेले पुन दोहोर्याउदै भने –‘हाम्रो उचित बसोबासको व्यवस्थापन हुनुपर्छ ।’ युवा नेता विराजले भने –‘कुनै पनि सरकारले पहिरो पीडितलाई अहिलेसम्म राहत तथा व्यवस्थापनमा ध्यान नदिएपछि युवाहरु स्वस्फुर्त पहिरोपीडितको समस्या समाधानमा जुटेको हो ।’