कैलालीमा भेटिए एकजना हैजाका बिरामी 
2023/08/30, 1:44
 
ss

कैलालीका एक बिरामीमा हैजाको संक्रमण फेला परेको परेको छ। भदौ १० गते धनगढीस्थित सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा चेकजाँच गर्दा संक्रमण देखिएको हो।

स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तेजबिक्रम शाहीका अनुसार गौरीगंगा नगरपालिका–११ मसुरियाकी एक ३४ वर्षीया महिलामा सो संक्रमण देखिएको हो। उनका अनुसार ती महिला भारतको दिल्लीबाट भदौ ५ गते कैलाली आएकी हुन्।

दिल्लीबाट आएपछि उनको स्वास्थ्यमा समस्या आएपछि स्थानीय स्वास्थ्य चौकीमा गएकी थिइन्। त्यहाँका चिकित्सकले शंकास्पद ठानेर भदौ ९ गते उनलाई सेतीमा पठाएका थिए। सेतीमा चेकजाँच गर्दा उनमा संक्रमण फेला परेको हो।

अहिले उनको धनगढीकै मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ। सोमबारसम्म आइसियुमा राखेर उपचार गरिरहेकोमा आज उनलाई नर्मल वार्डमा राखिएको छ। लामो समयपछि कैलालीमा हैजा देखिएको हो।