बझाङको केदारस्युँ गाउँपालिकामा पहिरो, १७ घर पुरिए, ७ जना वेपत्ता
2020/07/04, 7:30
 
pahiro

बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको एकिन विवरण आउन नसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइनसकेको बताए ।

उनले बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले पनि प्रहरीहरु घटनास्थलमा पुग्न नसकेकाले क्षतिको विवरण आइनसकेको बताए ।

डिएसपी बमले भने, ‘पहिरोले बाटो पनि बगाएको छ । खोलामा बाढी पनि आएको छ । त्यसैले हाम्रो टोली पहिरो गएको भनिएको स्थानसम्म पुग्न सकेको छैन र क्षतिको विवरण पनि प्राप्त भएको छैन ।’ स्थानीय लोकेन्द्र विकले भने अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र ७ जना बेपत्ता भएको जानकारी दिएका छन् ।