धनगढी उपमहानगरपालिकामाथि मानहानी मुद्दा लगाउने तयारी
2023/09/01, 1:19
 
ss

कैलाली जिल्ला अदालतको आदेश लत्याएको धनगढी उपमहानगरपालिकामाथि मानहानि मुद्दा दर्ता गर्ने तयारी भएको छ । धनगढी उपमहानगरपालिकाले वडा नम्बर ४ स्थित दक्षिणकाली हाटबजारमा डोजर चलाए पछि उपमहानगरपालिकामाथि मानहानी मुद्दा दर्ता गर्ने ठेक्का सम्झौता गरेका ओम पाठकले जानकारी दिए ।

सम्झौता विपरित कुनै पनि कार्य नगर्न तथा नगराउन अदालतको आदेश विपरित उपमहानगरपालिकाले भदौ ८ गते डोजर चलाएर संरचना भत्काएको थियो । जिल्ला न्यायधिश ओमप्रसाद अर्यालको एकल इजलासले जारी गरेको आदेशमा भनिएको छ –‘निवेदक तथा प्रत्यर्थी नगरपालिकाबिच मिति २०६७ चैत महिना १४ गतेका दिन भएको सम्झौता विपरितको कुनै पनि कार्य नगर्नु नगराउन भनि मुलुकी देवानी सहित २०७४ को दफा ५४१ ९२० बमोजिम यो उपयूक्त आदेश जारी गरि दिएको छ । आदेशको जानकारी छिटो विपक्षीहरुलाई गराउनु ।’

तर, उपमहानगरपालिकाले सम्झौता मिति सकिएको भन्दै त्यहाँ व्यवसायी गरिरहेका व्यापारीहरुलाई अन्यत्र पठाउने गरि डोजर चलाएको थियो । ठेक्का सम्झौता गरेका ओम पाठकले भने –‘अदालतको आदेश आएपछि त्यहाँ ढुक्कसंग व्यवसायीहरुले आफनो व्यापार गरिरहेका थिए । एक्कासी अदालतको आदेश पनि नटेरेर उपमहानगरपालिकाले डोजर चलाएर बनेका संरचनामा क्षति पुर्याएको छ ।’

उपमहानगरपालिकाले पौसमा सम्झौता मिति सकिएको भन्दै सूचना जारी गरेपछि उनी न्यायका लागि अदालतमा पुगेका थिए । उनले भने –‘त्यो ठाउँमा म स्थायी रुपमा ठेक्का लग्ने होइन् । मैले सम्झौता गरेको अवधिसम्म आफनो कारोवार गर्न पाउनुपर्छ मात्र भनिरहेको छु । उपमहानगरपालिकाले म माथि अन्याय गरेको छ ।’