घर घरमै सामाजिक सुरक्षा भत्ता
2023/09/01, 1:20
 
ss

कमलबजार नगरपालिका–५, कुइकाकी ८२ वर्षीय भरु भुल आँखा देख्नुहुन्न। वृद्धा भत्ता (सामाजिक सुरक्षा) आउने महिना कुरेर बस्दै आउनुभएकी भरु घरमै भत्ता बुझ्न पाउँदा दङ्ग हुनुहुन्छ। बैङ्किङ प्रणालीका कारण यसअघि अर्कोले बोकेर तथा डोहो(याएर बैङ्क लैजानुपर्ने झन्झटबाट छुटकारा मिलेपछि उनी खुसी देखिएकी छन। 

वैशाखी टेकेर हिँड्डुल गर्नुपर्ने अवस्था भएकी सोही वडाकी इसरा कामी पनि सुरक्षा भत्ता घरमै बुझ्न पाएपछि खुसी हुनुहुन्छ। टाढाको बैङ्क त्यसमा पनि हिँड्न नसक्ने अवस्थाकी इसराले वडाध्यक्षबाट भत्ता बुझ्दा सहज भएको बताए। “अध्यक्षले घरमै भत्ता ल्यायापछि अब अर्काका भरमा बैङ्क जान्या दुख्ख गया,” इसराले भनीन्। इसरा र भरु मात्रै होइन, सोही वडाकी ८२ वर्षीय खन्टी देवकोटा र ८१ वर्षीय भरु न्यौपानेले पनि आफ्नो सामाजिक सुरक्षा भत्ता घरमै बुझ्न पाउँदा खुसी देखिन। 

कमलबजार नगरपालिका–५, कुइकाका वरपिपल, नागतोला, लयाँटा, थकाइले, भुलवाडा, कोसडाँडा र सुन्दरबस्तीका अशक्त, अपाङ्गता तथा वृद्धवृद्धालाई घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष सत्यराज तिमिल्सैनाले जानकारी दिए। सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको अनुमति .मन्जुरी र हस्ताक्षर/ल्याप्चे) लिएर बैङ्कबाट रकम निकालेपछि घरमै पुगेर भत्ता दिने गरिएको छ। धेरैजसोलाई भत्ता लिन बैङ्क जानरआउने समस्य हुने, गाडी भाडा लाग्ने, बैङ्क टाढा हुँदा पालो कुर्नुपर्ने जस्ता बाध्यताबाट छुटकारा दिन घरमै पुगेर रकम उपलब्ध गराइएको वडाध्यक्ष तिमिल्सैनाले जानकारी दिए।

“पैसा पाउनुभन्दा ठुला दुःख बैङ्कमा जानुको समस्या देखिएपछि घरमै गएर भत्ता वितरण गरेको छु,” तिमिल्सैनाले भने। सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्दै बैङ्कमा रहेको बचत, दिइएको रकम र त्यसको उपयोगबारेसमेत जानकारी दिइएको बताइएको छ। १० वडा रहेको कमलबजार नगरपालिकाको अन्य वडाका वृद्धवृद्धा तथा अशक्त र अपाङ्गता भएका नागरिकलाई भने दुःख गरेर बैङ्कमै पुग्नुपर्ने बाध्यता छ। अन्य स्थानीय तहका सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले समेत भत्ता सहज बनाइदिन अनुरोध गर्दै आएका छन्।