सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाको मृत्यु
2023/09/05, 1:50
 
ss

सेती प्रादेशिक अस्पतालमा सोमबार सुत्केरी महिलाको मृत्यु भएको छ । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ४ लालपुर वाणीकी २५ वर्षीया राधा परियारको सोमबार बिहान ८ बजे मृत्यु भएको हो अस्पतालले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा शुक्रबार सुत्केरी गराउन आएकी २५ वर्षिया राधा परियारको शल्यक्रिया पश्चात् सोमबार विहान मृत्यु भएको हो। आईतबार शल्यक्रिया गरेर निकालिएको शिशुको पेट भित्रै मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार प्रसूति व्यथाको पीडाका कारण शल्यक्रिया पश्चात् मृतक परियार मुर्छा परेको र आइसियुमा भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि होस नखुलेर मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेख राज उपाध्यायले बताए । 

तर, मृतककी जेठानी दिदी कल्पना परियारले अस्पतालका ड्युटीमा रहेका नर्सिङ स्टाफका कारण राधाको मृत्यु भएको आरोप लगाएकी छिन् । उनले अस्पतालका कर्मचारीले समयमै सुत्केरी नगराएका कारण सुत्केरी महिलाकोे राधाको मृत्युु हुन पुगेको बताईन । शुक्रबार अस्पताल ल्याएर भर्ना गर्दा पनि ठिक समयमा शल्यक्रिया नगरेको कल्पनाले बताइन्। ’हामी बहिनीलाई लिएर शुक्रबार अस्पताल आएका हौँ। आइतबारसम्म हाम्रो मान्छेको शल्यक्रिया गरिएन। बच्चाको टाउको ठूलो थियो भन्ने थाहा हुँदाहुँदै पनि समयमा शल्यक्रिया नगर्दा आमा र बच्चाको ज्यान गएको छ। यसको जिम्मेवारी अस्पतालले लिनुपर्छ। हामी शव उठाउन्नौँ,’ कल्पनाले भनिन्।

तीन दिनसम्म अस्पतालमा राख्दा पनि सामान्य सुत्केरी हुन्छ भनेर नर्स र डाक्टरले शल्यक्रिया गर्न नमानेको मृतक राधाकी काकी हेमा परियारले बताइन्। ’व्यथा लागिसकेपछि टाउको ठुलो छ अप्रेसन गर्न भन्यौँ। तर उहाँहरूले नर्मल बच्चा जन्मिन्छ भन्नुभो। जब पाठेघरको पानी सक्किएर ब्लिडिङ हुन थाल्यो तब हत्तपत्त बिरामीको अवस्था गम्भीर भएपछि शल्यक्रिया गरियो। राधा पेटको बच्चाको मृत्यु हुनुमा अस्पताल जिम्मेवार छ,’ हेमाले आक्रोशित हुँदै भनिन्।

लामो समयसम्म व्यथा लागेकाले शल्यक्रिया गर्न अनुरोध गर्दा ड्युटीमा रहेका नर्सहरूले उल्टै थर्काएको र अरु अस्पताल लगेर जानू भनेको कल्पनाले बताएकी छिन् । उनले अस्पतालका नर्सहरूमा बोल्ने सभ्यतासम्म नभएको, बिरामीको पीडा र अवस्था बुझ्न नआउने गरेकाले राधाको मृत्यु हुन पुगेको बताएका छन्।

मृतकका पति रोजगारीका लागि भारत गएका छन् । मंगलबार मृतकका पति आएपछि अस्पताल प्रशासन र पिडित दुई पक्षबीच वार्ता गरी निश्कर्षमा पुग्ने अस्पतालका सूचना अधिकारी उपाध्यायले जानकारी दिए । 
मृतक राधाका दुई छोरीहरु रहेका छन् ।