चाडपर्व नजिकिदै गर्दा कामको लागि भारत पसेकाहरु घर फर्कने क्रम बढ्यो
2023/09/13, 1:53
 
ss

चाडपर्व नजिकिदै गर्दा कामको शिलशिलामा भारतका विभिन्न सहर पसेकाहरु दैनिक रुपमा स्वदेश फर्कने क्रम बढेको छ । छिमेकी मुलुक भारतमा रोजगारी गरेर घर फर्किनेहरु यतिबेला सीमा नाकामा भीडभाड बढेको हो । रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका सुदूरपश्चिमेलीहरु अहिले हिन्दु नारीहरुको महान चाड हरितालीका तीज, दशैँ लगायत थारुहरुको अटवारी पर्व नजिकिँदै गर्दा घर फर्किनेहरु बढेका हुन् । भारतका विभिन्न सहरमा रोजगारी गरेर चाडपर्व मनाउन घर फर्कनेको संख्या बढ्दै गएको छ । 

प्रदेशका प्रमुख तीन नाका भएर मंगलबार मात्रै चार सय १४ जना भित्रिएको तथ्यांक छ । मंगलबार मात्रै कैलालीको गौरीफन्टा नाका भएर ३६३ जना स्वदेश फर्किएका छन् । कञ्चनपुरको गड्डाचौकी नाका भएर ४० जना र बैतडीको जुलाघाट नाकाबाट ११ जना नेपाली स्वदेश फर्किएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीको तथ्याङकले देखाएको छ । यी तीनै नाका भएर रोजगारीका सिलसिलामा भारतमा रहेका विभिन्न जिल्लाका चार सय १४ जना स्वदेश फर्किएको आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ ।

भारत लगायत मुलुकबाट चाडपर्व मनाउन स्वदेश फर्कनेहरुको संख्या दिनहुँ बढ्न थालेपछि गाउँघरमा निकै चहलपहल बढ्न थालेको स्थानीय बताउँछन् । विदेशबाट घर फर्किएका नागरिकका कारण अहिले तराईबाट पहाड जाने गाडी समेत भरिभराउ हुन थालेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । यस्तै सिलसिलामा धान पाक्नै लाग्दा खेतीपातीको काम पनि सकिने यहाँका स्थानीय बताउँछन् । दशैँ आउन अझै धेरै समय बाँकी रहे पनि यहाँका नागरिकले आफ्ना घर पोत्ने तथा कमेरो लगाउने काम भने अहिलेदेखि नै सुरु गरिसकेका छन ।