सुदूरपश्चिममा पछिल्लो ३ बर्षमा आत्महत्या गर्नेको संख्या घट्दो क्रममाः प्रहरी
2023/09/15, 12:16
 
ss

सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेको संख्या घट्दो क्रममा रहेको पाइएको छ। नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै गएका बेला पछिल्लो ३ वर्षको तथ्याङ्कले सुदूरपश्चिममा भने आत्महत्या गर्ने घट्दो संख्या रहेको देखाएको हो। सुदूरपश्चिममा आत्महत्या गर्नेको संख्या घट्दो क्रममा रहेको प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । तीन वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा १ हजार ८२७ जनाले आत्महत्या गरेका छन् । गत आर्थिक वर्ष २०७९/०८०मा सुदूरपश्चिममा ५ सय ५६ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा तीन सय पाँच पुरुष र दुई सय ५१ महिला रहेका छन् । यो संख्या आर्थिक वर्ष ०७८/०७९ को भन्दा २७ ले कम हो।

आर्थिक वर्ष ०७७/७८ मा यस प्रदेशमा ६ सय ८८ जनाले आत्महत्या गरेका थिए । सो अवधिमा ३ सय ७९ पुरुष र ३ सय ९ जना महिलाले आत्महत्या गरेका छन् । यस्तै, आर्थिक वर्ष ०७८/०७९ मा ५ सय ८३ ले आत्महत्या गरेका थिए। सो अवधिमा ३ सय १९ पुरुष र २ सय ६४ महिलाले आत्महत्या गरेका प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । प्रहरीको त्रिवर्षीय तथ्याङ्क अनुसार सुदूरपश्चिममा आत्महत्या घट्दो क्रममा रहेको देखिएको छ ।

पाँच वर्षमा ३०६ बालबालिकाले आत्महत्या गरेको तथ्याङ्क छ । गत आर्थिक वर्ष ०७९/०८० मा सुदूरपश्चिममा आत्महत्या गर्नेमा ७५ बालबालिकाहरूले आत्महत्या गरेका हुन् । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरण अनुसार २४ बालक र ५१ बालिका रहेका छन् ।

विगत पाँच वर्षको अवधिमा यस प्रदेशमा ३ सय ६ जना बालबालिकाहरूले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ। आत्महत्या गर्नेमा बालिका १ सय ९० र बालक १ सय ६ रहेका छन् । आर्थिक वर्ष ०७५र०७६ मा १७ बालक र २५ बालिका गरी ४२ जनाले आत्महत्या गरेका छन् । यस्तै, ०७६र०७७ मा २५ बालक र ३२ बालिका गरी ५७, ०७७/०७८ २६ बालक र ४३ बालक गरी ६९ र ०७८/०७९ मा २४ बालक र ३९ बालिका गरी ६३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

वयस्क समूहका आत्महत्या गर्नेमा पुरुषको संख्या बढी देखिएको छ भने बालबालिकामा बालिकाको संख्या धेरै देखिएको छ । आत्महत्या गर्नेको संख्यामा धेरैले झुन्डिएर आत्महत्या गरेका छन् । सुदूरपश्चिममा ७८ दशमलव ४८ प्रतिशतले झुन्डिएर आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । सुदूरपश्चिममा आत्महत्या गर्ने जम्मा १ हजार ८ सय २७ जनामध्ये १ हजार ४ सय ३४ जनाले झुन्डिएर आत्महत्या गरेका प्रहरीले जनाएको छ। विष सेवन गरेर ३ सय ५८, डुबेर १८, आगो लगाएर ४, हाम फालेर ११, औजार हातहतियारबाट १ र करेन्ट लागेर १ रहेको प्रहरीको तथ्याङ्कले जनाएको छ।