कैलालीका उद्योग क्षेत्रमा आर्थिक मन्दीको प्रभाबः तीन वर्षमा साढे ५ सय उद्योग बन्द
2023/10/01, 2:25
 
ss

कैलालीका उद्योग क्षेत्रमा आर्थिक मन्दीको प्रभाब देखीन थालेको छ । उद्योगबाट बजारीकरण हुने र लगानी गरेर आम्दानी पनि राम्रै पाउने आशामा खोलिएका साना तथा ठुला उद्योगहरुमा कच्चा पदार्थ अभावका साथै आर्थिक मन्दीको प्रभाब देखीन थालिएको हो ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडामा दीपेन्द्रबहादुर सिंहले चार वर्षअघि झन्डै डेढ करोड खर्चेर कृषि फार्म स्थापना गरे । सुदूरपश्चिममा राम्रै बजार पाउने आकलन गरेर उनले स्थानीय जातका कुखुरा, लौकाट, टर्की र भैंसीपालन सुरु गरे । साथै उनले ह्याचरी राखेर चल्ला उत्पादन, आफ्नै दाना उद्योग र रेस्टुरेन्ट पनि खोले ।

सुरुका दुई वर्ष त उत्पादन र बिक्री राम्रै चल्यो । आम्दानी पनि राम्रै थियो । बिस्तारै लगानी बढ्दै जाँदा व्यापार भने ओरालो लाग्यो । जुगेडा क्षेत्रकै ठूलोमध्येको उनको फार्म अहिले बन्द हुने अवस्थामा पुगेको छ ।सुदूरपश्चिमकै व्यापारिक तथा औद्योगिक ‘हब’ का रूपमा रहेको कैलालीमा स्थापना भएका उद्योगहरू धमाधम बन्द हुन थालेका छन् । सुदूरपश्चिममै ठूलो लगानी रहेको उद्योगमध्येको एक कैलालीको लम्कीस्थित डल्फिन ग्रुपले पनि आफ्ना आठवटा उत्पादनलाई बन्द गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय कैलालीका अनुसार तीन वर्षयता गत असारसम्म यहाँका ५ सय ५० उद्योग बन्द भएका छन् ।

गत आर्थिक वर्षमा मात्रै २ सय ३२ उद्योगीले व्यवसाय दर्ता खारेजी गराएका थिए । ‘कार्यालय प्रमुख कमलप्रसाद ओझाले यस्तो अनौठो त यसअघि कहिल्यै नभएको बताए । उनले नयाँ दर्ता हुने भन्दा दर्ता तथा सञ्चालनमा रहेका उद्योगको दर्ता खारेजी गर्न आउनेको संख्या दैनिक रूपमा बढ्दो रहेको बताए । कैलालीमा आर्थिक वर्ष ०७८र०७९ मा १ सय ७५, ०७९र८० मा २ सय ३२ र ०७७र७८ मा १ सय ४० वटा उद्योग बन्द भएको तथ्यांक रहेको कार्यालय प्रमुख ओझाले बताए ।

उनका अनुसार बन्द हुनेमा कृषि क्षेत्रका, उत्पादनमूलक, सेवामूलक, होटल तथा पर्यटन उद्योग छन् । ‘उद्योग दर्ता खारेजी फाराममा धेरैजसो उद्योग बन्द गर्नुको कारण आर्थिक मन्दी, कच्चा पदार्थ अभावलगायतका कारणले उद्योग सञ्चालनलाई निरन्तरता दिन नसकेको उल्लेख गरेका छन्। एकातिर लागत र मूल्य बढेकाले व्यापार घटेको, अर्कोतिर कच्चा पदार्थ महँगिएकाले समस्या भएको कार्यालय प्रमुख ओझाले बताएका छन् ।  सुदूरपश्चिममा ठूला तथा मझौला उद्योगको श्रेणीमा पर्ने ठूलो लगानीका उद्योग सञ्चालनको अभिलेख छैन ।

यहाँ सञ्चालित उद्योग घरेलु तथा साना मात्र हुन्। वैदेशिक रोजगारीबाट फर्केर धनगढीमै जिन्स कपडा उद्योग सञ्चालन गरेका धर्मराज जोशीको दुखेसो पनि दीपेन्द्र सिंहको भन्दा फरक छैन । ७० जनालाई रोजगारी दिएर सुरु गरेको उद्योग बन्द गर्नुपरेको उनले बताए। ‘बजार भएन, राज्यले करमाथि कर मात्रै असुल्न थाल्यो,’ उनले भने, ‘स्वदेशमै केही गरौं भन्ने उद्देश्य र उत्साहले वैदेशिक रोजगारीबाट फर्किएर सुरु गरेको उद्योग घाटामा गएपछि बन्द गर्नुपर्ने अवस्था आएको छ।’

हालसम्म कैलालीमा साढे २३ अर्बका साढे १४ हजार साना उद्योग सञ्चालनमा रहेको तथ्यांक छ। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार २३ अर्ब ४३ करोड ४७ लाख लगानी छ । ती उद्योगले ७६ हजार बढीको संख्यामा रोजगारी सिर्जना गरेका थिए। कार्यालयकै अध्ययनअनुसार कैलालीका उत्पादनमूलक उद्योगले सबैभन्दा बढी २९ हजार ३ सय १४ जनालाई रोजगारी दिएको कार्यालय प्रमुख ओझाले बताए । कृषिमूलक उद्योग क्षेत्रमा २० हजार ८ सय ६९ जनाले रोजगारी पाएको उनले बताए ।

कृषि क्षेत्रका उद्योग ६ हजार १ सय ३५,सेवामूलक क्षेत्रका ५ हजार ३ सय ८५,उत्पादनमूलक ३ हजार ८७ छन्। प्रदेशकै व्यापारिक तथा औद्योगिक ‘हब’ भएकाले सात पहाडी जिल्लाको खाद्यान्नलगायत सामग्रीको खरिद केन्द्र पनि कैलाली हो । तर यहाँकै उद्योगहरू पछिल्लो समय धमाधम बन्द र विस्थापन हुनुले संकट निम्तिएको व्यवसायीहरू बताउँछन्। कैलालीमा सञ्चालन हुँदै आएको देउती गुट्खा प्याकेजिङ उद्योग, २० वर्षदेखि लम्कीमा सञ्चालन हुँदै आएको डल्फिन ग्रुपले आफ्ना आठवटा उत्पादन हटाएर नेपालगन्ज लगेको छ ।

डल्फिनले चामल, दाना, आँटा, भुजालगायत आठवटा उत्पादनलाई यहाँबाट हटाएको जनाएको छ । ‘यहाँ व्यवस्थापनलगायतका समस्या आइलागे,’ डल्फिनका सञ्चालक सूर्यबहादुर थापाले भने, ‘यहाँबाट साढे चार सय जनाको रोजगारी गुम्यो ।’ उद्योगहरू विस्थापन हुँदा पुँजी स्थानान्तरण मात्रै हैन स्थानीय रोजगारी पनि गुमिरहेको व्यवसायी बताउँछन् । ‘उद्योग बन्दकै कारण हजारौंको संख्यामा रोजगारी गुमिरहेको छ,’ उद्योग वाणिज्य संघ, कैलालीका अध्यक्ष पुष्पराज कुँवरले भने, ‘सुदूरपश्चिमको उद्योग व्यवसाय क्षेत्र कसरी माथि उठाउने भन्ने चिन्ता छ ।’