कैलालीको त्रिनगर नाकाबाट अझै भएन खाद्यान्न आयात, चाडपर्वको मुखैमा महंगी र राजश्वमा पनि गिरावट
2023/10/06, 12:14
 
ss

कैलालीको त्रिनगर भन्सार नाकाबाट डेढ महिनादेखि खाद्यान्न,तरकारी र फलफुलको आयात रोकिएको छ। साउन २८ देखि सो भन्सार नाकाबाट खाद्यान्न,तरकारी तथा फलफुलको गुणस्तर मापन गर्न प्लान्ट क्वारेन्टाइन कार्यालयले काम गर्न छोडेपछि आयात रोकिएको हो।

डेढ महिनादेखि खाद्यान्न, तरकारी, फलफूूूल तथा कुखुुराका दानाको आयात ठप्प भएपछि सरोकारवाला निकायले नियमित गर्न चाँसो नदिएको स्थानियको भनाई छ। चाडपर्वको मुखमै आएर आयात रोकिएपछि चोरी,तस्करीको जोखिमका साथै उपभोक्ता महंगीमा पर्ने देखीएको छ। कैलाली भन्सार कार्यालयले पनी मासिक संकलन गरिरहेको ३० करोड बढि राजश्व गुमिरहेको कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र हमालले बताए।

उनले भने, प्लान्ट क्वारेन्टाइनले परीक्षण गरेर मात्र हामीले सामानको भन्सार जाँचपास गर्न पाउछौँ तर, क्वारेन्टाइनले परीक्षण नै रोकिदिएकाले सामान जाँचपास गर्न सकिएको छैन,’आयात ठप्प छ, उनले भने। चाडपर्वको समयमा आयातमा बृद्धि हुँदा राजश्वको अनुपात समेत बढ्ने गरेको थियो तर संघीय सरकारले क्वारेन्टाइन परीक्षण नै रोकिदिएको राजश्व संकलनमा गिरावट आएको हमालको भनाई छ। मुख्यमन्त्रीदेखि संघीय मन्त्रीका आश्वासन मात्रै, समस्या उस्तै प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकी टुरमुकाम त्रिनगरले परीक्षण रोकेपछि यहाँका सरोकारवाला निकाय मौन जस्तै बनेको ब्यवसायीहरुको भनाई छ।

कैलाली उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ सुदूूरपश्चिम प्रदेशको अगुवाईमा व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय कैलाली, सुदूूरपश्चिमका मुुख्यमन्त्री कमलबहादुर शाहदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेतलाई समस्या समाधान गरिदिन गुहारेको डेढ महिना बितिसकेको छ। तर राजनीतिक नेतृत्वमा बसेकाहरुले समस्या सामाधानका लागि ठोस पलहकदमी नलिदा ब्यवसायीले हैरानी खेप्नुपरेको उनीहरुले बताएका छन्। १५ दिन अघि उद्योगी व्यवसायीहरुको टोलीले काठमाडौँ पुगेर प्रधामन्त्री प्रचण्ड, कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाल तथा दुवै मन्त्रालयका सचिवलाई भेटेर त्रिनगरमा प्लान्ट क्वारेन्टाइन परीक्षण नियमित गरिदिन आग्रह गरेको थियो तर आश्वासन बाहेक उपलब्धी केही नभएपछि फेरी व्यवसायीहरु काठमाडौँ पुगेका छन्।

कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोज अग्रवालले प्लान्ट क्वारेन्टाइन पूूर्ववत रुपमा सुचारु गरिदिन आग्रह गर्दै दोस्रो पटक डेलिकेसन लिएर काठमाडौँ पुगेको बताए । उनले क्वारेन्टाइन परीक्षण सञ्चालनका लागि पहलकदमी लिइदिन पटक–पटक आग्रह गरेपनी अहिलेसम्म कुनै सुनवाइ नभएपछि फेरी काठमाडौँ गएको बताए । कञ्चनपुरको गड्डाचौकी नाकामा प्लान्ट क्वारेनटाइनले नियमित परीक्षण परीक्षण गरिहेको छ तर त्यहाँको भन्सार नाका दैनिक डेढरदुई घण्टा मात्र खुला हुने गर्दछ भने शारदा ब्यारेजमा सवारीसाधनसहित १० टनभन्दा बढिको सामान ल्याउन अनुमती छैन।

सोही कारण व्यवसायीहरु प्रदेशकै प्रमुख व्यापारिक नाका त्रिनगरमा क्वारेन्टाइन सञ्चालनमा ल्याउनुुपर्ने माग गर्दै प्रदेशदेखि संघीय सरकारकहाँ धाइरहेका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ सुुदूरपश्चिमका अध्यक्ष शंकर बोगटीले क्वारेन्टाइन परीक्षणको व्यवस्था मिलाइदिन आग्रह गर्दै सबै सरोकारवाला निकायलाई भेटिसकेको बताए। तर कतैबाट अहिलेसम्म अपेक्षित पहलकदमी भएको नभएको उनको भनाई छ ।कैलाली भन्सारबाट हुने खाद्यान्न, तरकारी, फलफूलको आयात रोकिदा व्यवसायीलाई मात्र नभएर सरकारले मासिक करोडौँ राजश्व गुमाइरहेको उनले भने।

उनले मुलुकले आर्थिक संकट व्यहोरिरहेका बेला यो कुरामा राज्यले अलिकती पनि जिम्मेवार हुनुपर्ने र यो कुरा राज्यकै दायित्व रहेको बताए। यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले प्लान्ट क्वारेन्टाइनको मुख्य कार्यालय रहेको गड्डाचौकी नाकाबाट ठूला सवारीसाधन ल्याउन नसकिने र अरु नाकाबाट ल्याउँदा महंगो पर्ने बताए। उनले पूर्ववत रुपमै क्वारेन्टाइन सेवा सञ्चालन गर्नुपर्ने माग गर्दै कृषि मन्त्री, नेपाल सरकारका मुख्य सचिव, कृषि सचिव लगायतकाको ध्यानाकर्षण गराएपनि वेवास्ता गरिएको बताए।

यता कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्तले आफुले सो कुरा थाहा पाएपछि पुनः सञ्चालनका लागि पहल गरिरहेको बताए। प्रतिनिधिसभाको कृषि समितिका सदस्य समेत रहेका पन्तले प्लान्ट क्वारेन्टाईनले परीक्षण रोक्दा सुदूरपश्चिमका व्यवसायी र आम उपभोक्ताले भोग्नुपरेको समस्याबारे प्रधानमन्त्री र विषयगत मन्त्रालयका मन्त्री समेतको ध्यानाकर्षण गराउने बताए। यस्तै प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी समेत रहेका वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्यले विगतमा राजपत्रमा सूचना प्रकाशन नगरी स्थापना गरिएका कार्यालयबाट सेवा प्रवाह रोकिएको बताए। आचार्यले धनगढीसहित राजपत्रमा सूचना प्रकाशन नभएर सेवा प्रवाह गरेर विभिन्न ठाउँका क्वारेन्टाइन कार्यालयको सेवा रोकिएको उनको भनाई छ।