पीसीआरका लागि सुदूरपश्चिम समाज अमेरिकाद्धारा १४६६० डलर सहयोग
2020/07/04, 1:03
 
korona

सुदूर पश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका १७ लाख ६० हजार दुई रुपैया सहयोग गरेको छ । ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाद्धारा डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि अमेरिकामा थालिएको सहयोग संकलन अभियानका क्रममा भएको १४ हजार छ सय ६० डलर ९ १७ लाख ६० हजार दुई रुपैया ० जम्मा भएको थियो । सोही रकम समाजले पीसीआर मेसिन स्थापनाका लागि सहयोग गरेको हो ।

सुदूर पश्चिम समाज अमेरिकाका बरिष्ठ उपाध्यक्ष राम बहादुर देउवाको संयोजकत्वमा गठित समितिले अमेरिकाका बिभिन्न राज्यमा रहेका सुदूर पश्चिम समाज र सुदूरपश्चिमेली अगुवाहरुसंग आर्थिक सहयोग संकलन गरेको थियो । अभियानमा अमेरिकामा रहेका सुदूर पश्चिमेलीहरुले स्वस्फूर्त रुपमा सहयोग गरेका थिए ।

पाँच सदस्यीय समितिमा समाजका अध्यक्ष गणेश बिष्ट, महासचिब जीवन बम, सचिब रैभान महरा, र सह कोषाध्यक्ष तारा धामी सदस्यीय रहेकी थिईन । सोही समितिको सक्रियता र पहलमा अमेरिकामा आर्थिक सहयोग संकलन भएको हो । अभियानलाई सफल पार्न अहोरात्र खटिएका समाजका कोषाध्यक्ष नविन ओझा,उपाध्यक्ष दान सिंह बिष्ट र सल्लाहाकार समिति सदस्य ममता जोशी प्रति पनि समाजले आभार प्रकट गरेको छ ।

समाजका अनुसारमा आर्थिक संकलन अभियानमा सुदूर पश्चिम समाज अमेरिका न्युयोर्कको तर्फबाट आठ हजार दुई सय ६५ डलर, गौरा समाज विस्कोन्सिनको तर्फबाट दुई हजार तीन सय ४५ डलर, अन्तर्राष्ट्रिय सुदुर पश्चिम समाज अमेरिकाका सहसंयोजक दिपेन्द्र जोशीको पहलमा टेक्सासबाट दुई हजार छ सय २३ डलर, सुदूर पश्चिम समाज मेरिल्यान्डकोतर्फबाट एक हजार डलर सुदूर पश्चिम समाज कनेक्टिकटका तर्फबाट चार सय २७ डलर गरी १४ हजार छ सय ६० डलर संकलन भएको थियो ।

समितिले आर्थिक संकलन अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । समाजले आर्थिक संकलन अभियानलाई सफल पार्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समन्वयकारी भूमिका निर्बाह गर्ने जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टप्रति पनि आभार व्यक्त गरेको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय सुदुर पश्चिम समाजका अध्यक्ष धन बहादुर बलायर, एनआरएन अमेरिका बोर्ड मेम्बर पदम ठकुराठी र बासुदेव अधिकारी, एनआरएमए कनेक्टिकट च्याप्टरका सभापति हरी प्रशाद जोशी, अन्तर्राष्ट्रिय सुदुर पश्चिम समाज अमेरिकाका सह संयोजक दीपेन्द्र जोशी लगायत गौरा समाज विस्कोन्सिन परिवार सुदुर पश्चिम समाज मेरिल्यान्डका अध्यक्ष दमन बिक्रम शाह, सुदुर पश्चिम समाज क्यालिफोर्नियाका अध्यक्ष करन चन्द, सुदुर पश्चिम समाज टेक्सास लगायत आर्थिक संकलन अभियानमा साथ, सहयोग र सहकार्य गर्ने सुदूर पश्चिममेली लगायत सम्पूर्ण नेपालीहरुलाई समाजले धन्यवाद दिएको छ ।

समाजका अध्यक्ष गणेश बिष्ट, बरिष्ठ उपाध्यक्ष तथा आर्थिक सहयोग संकलन समितिका संयोजक राम बहादुर देउवा, महासचिव जीवन बम र कोषाध्यक्ष नविन ओझाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन नेपालसंगको सहकार्यमा अमेरिकामा थालिएको आर्थिक सहयोग संकलन अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

नेपालमा कोरोनाको सबैभन्दा उच्च जोखिममा रहेको सुदूर पश्चिम प्रदेशमा पीसीआर मेसिनको अभावमा कोरोना परीक्षण हुन नसकिरहेको अवस्थामा सुदूरपश्चिमका सात वटा पहाडी जिल्लाका जनताको कोरोना परीक्षणको सुबिधाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाले आर्थिक सहयोग संकलन अभियान शुरु गरेको थियो ।

यो अभियानमा विश्वव्यापी रुपमा सहयोग प्राप्त भएको छ । विश्वका बिभिन्न मुलुकमा रहेकासुदूर पश्चिमेली अगुवा र सुदूर पश्चिम समाजले यो अभियानमा साथ दिएका छन् । सबैको साथ र सहयोगले डडेल्धुरामा पीसीआर मेसिन स्थापना भईसकेको छ ।

यसअघि सुदूर पश्चिममा एक मात्र पीसीआर मेसिन धनगढीमा सञ्चालनमा थियो । उक्त मेसिनले प्रतिदिन बढिमा दुई सय ५० जनाको स्वाव परिक्षण गरिरहेको छ । जस कारण सुदूरपश्चिममा संकलित हजारौ व्यक्तिको स्वावको रिपोर्ट आउन महिना दिन लाग्ने गरेको छ । पीसीआर मेसिनको अभावमा सुदूरपश्चिममा स्वाव संकलन समेत पटक पटक स्थगित हुदै आएको छ । पीसीआर मेसिनको अभावमा कोरोना परीक्षण नहुदा अहिलेपनि हजारौ व्यक्ति महिना दिनदेखि क्वारेन्टाईनमा बस्न बाध्य छन् । हजारौ व्यक्ति परीक्षण बिना नै घर गएका छन् । जसका कारण सुदूरपश्चिममा कोरोना फैलिने क्रम तिब्र भएको हो ।

यही समस्यालाई मध्यनजर गर्दै ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि अभियान सञ्चालन गरेको थियो । जनसहभागितामा डडेल्धुरा अस्पतालमा ९६ लाखको लागतमा पीसीआर मेसिन स्थापना भईसकेको छ । उक्त मेसिनको एक सिफ्टमा ९६ जना र चार सिफ्टमा ती सय ८४ जनाको स्वावको नमूना परिक्षण गर्ने क्षमता रहेको छ ।

नेपालमा यसरी जनस्तरबाट संकलित रकमबाट पीसीआर स्थापना भएको यो पहिलो पटक हो । ह्युमानिटी फाउण्डेसन नेपालका अध्यक्ष श्याम तायलले विदेशमा रहेपनि बिपत्तिमा आफ्नो देश र जन्मभूमि प्रति अगाध माया प्रकट गर्ने सम्पूर्ण सुदूरपश्चिमेली तथा नेपालीहरु प्रति आभार व्यक्त गरेका छन् ।

आफ्नो जन्मभूमि प्रतिको यो भन्दा ठूलो माया अरु के हुन सक्छ, तायलले भने, प्रवासमा रहेका सुदूर पश्चिमेलीहरुको माया, साथ, विश्वास र सहकार्यले डडेल्धुरामा पीसीआर स्थापनाका लागि थालिएको अभियान तीन सातामा सफल भएको छ ।