पहिरो अपडेटः एकै परिवारका तीन सहित चार जनाको शव भेटियो
2020/07/04, 1:15
 
death

बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेखीमा पहिरोमा परि बेपत्ता भएका मध्ये चार जनाको शव भेटिएको छ । शव भेटिनेमा ४६ वर्षीया राममति देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयोग जेठारा र सात वर्षीया छोरी अस्मिता जेठारा रहेका छन् । त्यस्तै स्थानीय ८० वर्षीय दले जेठाराको पनि शव भेटिएको छ ।

पहिरोमा परि गिरिजा जेठारा, शान्ति जेठारा र शन्तु जेठारा बेपत्ता भएका छन् । एकै घरका चार जना बेपत्ता भएकोमा तीन जनाको शव फेला परेको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले जानकारी दिए ।  यसअघि वडा ८ का वडाध्यक्ष गणेश बोहराले पहिरोले पुरेका १७ घरका सात जना बेपत्ता भएको जानकारीमा आएको बताएका थिए । शुक्रबार राति पहिरो आएपछि स्थानीयहरु सुरक्षित ठाउँतर्फ गएको पनि वडाध्यक्ष भण्डारीले बताए । 

स्थानीय बासिन्दाले पनि १७ घर पुरिएको बताएका छन् । पानी पर्न कम भए पनि पहिरो खसेको ठाउँमा नेटवर्कले राम्रोसँग काम नगरेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।  घटनास्थलसम्म पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने ठाउँबाट गाडीमा झण्डै पाँच घण्टा लाग्छ । तर जयपृथ्वी राजमार्गको कचाली खोलमा पहिरो गएकाले जिल्लाबाट थप टोली उद्धारमा जान सकेको छैन । अहिले बाटो खुलाउने प्रयास भइरहेको छ ।