किनारमा बास, वर्षेनी बाढीको त्रास
2020/07/04, 1:35
 
badi

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड(१९ को त्राससँगै वर्षा सुरु भएपछि बाढी पहिरोको पनि त्रास बढेको छ । वर्षा सुरु भएसँगै अछाममा बाढी पहिरोको जोखिम बढेको छ । बुढीगंगा नदी र छिपेखोलामा पानीको वहाव बढेसँगै साँफेबगर आसपासको क्षेत्र बाढीको जोखिममा परेको छ । वर्षाका कारण नदी र खोलामा बाढी आएको छ । बाढीको बढी जोखिममा साँफेबगर नगरपालिकाको ७ सय भन्दा बढी घर बाढीको जोखिममा छन् ।

नगरपालिकाको वडा नम्बर १ का एक सय, ४ का करिब ५ सय र ७ का एक सय घरपरिवार रहेका छन । वर्षायामको समय सुरुवात भएसँगै बाढीको त्रासका कारण यहाँका स्थानीय बासिन्दाको निन्द्रा नै हराउने गर्छ । नगरपालिकाको वडा नम्बर ७ को ककडसातका ८० घरपरिवार बाढीको उच्च जोखिममा रहेका वडा अध्यक्ष मिठ्ठु भाटले बताए । उनले भने वर्षायाम सुरु हुने बित्तिकै यहाँ स्थानीयहरुलाई भोक निन्द्रा हराउने गरेको छ । वर्षेनी लगाएको खेतीपाती बगाउँछ । गतिलो तटबन्धन छैन् । तटबन्धनका नाममा तारजाली मात्र हाल्ने काम मात्र हुन्छ त्यो तारजाली वर्षेनी बाढीले बगाएर लैजाने गर्छ ।’ मष्टामाण्डौका करिब ५ सय घरपरिवार मध्ये पुलबजारका ४० घरपरिवार बाढीको उच्च जोखिममा रहेका वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता बालगिरी कुँवरले बताए ।

ज्यान जोखिममा राखेर दिनचर्या बिताउँदै आएको पुलबजार निवासी रत्नादेवी नेपालीले बताइन् । उनले भनिन् ‘२०३९ र २०६३ सालमा आएको बाढीले भएर भरको सबै सम्पत्ति बगायो । त्यसको लेखाजोखा केही पनि छैन् । असार, साउन र भदौ महिनामा नदीको डरले राती राम्रोसँग निन्द्रा नै पर्दैन । राती पानी परेको दिन परिवारका सदस्यहरु पालैपालो जाग्राम बस्छौं । हामीले काल पर्खेर बसे जस्तै भएको छ ।’ साना बालबच्चा छन् । बाढी आयो भने उनीलाई कसरी बचाउने चिन्ता लागिरहन्छ उनले भनिन ।

बुढीगंगा र छिपे खोलामा दिगो तटबन्धको लागि कसैले पनि ध्यान नदीँदा वर्षेनी बाढीको समस्या भोग्नु परेको गुनासो स्थानीयको छ । नदीले तारेको कुनाबाट धार परिवर्तन गरेमा यहाँको सयौं बस्ती, बजार समेत बाढीको चपेटामा पर्ने स्थानीय रामबहादुर कुँवरले बताए । छिपेखोला र बुढीगंगामा दिगो तटबन्धनका लागी कसैले चिन्ता र चासो नदेखाएको उनको भनाई छ। नदीले वर्षेनी यहाँको खेतीयोग्य जमिन कटान गर्दे गइरहेको छ। २०६३ सालमा आएको बाढीले साँफेबगर क्षेत्रको करिब ४० रोपनी भन्दा बढी खेती योग्य जमिन बगायो ।

सो क्षेत्र अहिले बगर बनेको छ । जथाभावी खोला र नदीमा उत्खनन् हुने गरेकाले पनि बाढीको जोखिम बढेको छ । साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवरले वर्षा याममा जतिबेला पनि बाढी आउन सक्ने भएका कारण सबैले सचेत हुन आग्रह गरे । आईतबार बाढीको अनुगमन गर्दै मेयर कुँवरले पुलको पाँच सय मिटर तलमाथिको क्षेत्रबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन गर्दा पुललाई असर पर्ने भन्दै उत्खनन नगर्न अनुरोध गरे । उनले पुलको ५ सय मिटर तलमाथिबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन गरे कारबाही गर्ने चेतावनी समेत दिए ।

साँफेबगर आसपासमा सबैभन्दा बढीभन्दा बढी क्षति छिपेखोलाले गर्ने गरेको छ । साँफेबगर नगरपालिकाको कार्यालय र एयरपोर्ट लगायत सयौं घरहर समेत जोखिममा रहेका छन् । उत्तरबाट बुढीगंगा नदी र पुर्वबाट छिपे खोलाका कारण साँफेको एयरपोर्ट बजार नै जोखिममा परेको छ । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले गरेको सर्वे अनुसार पहिरोको जोखिम बढेको छ। यहाँका २० बस्ती पहिरोको जोखिममा छन् । ६१ भन्दा बढी बस्तीलाई प्रभावित क्षेत्रका रूपमा राखिएको छ । सो योजना अनुसार १७ हजार ४ सय ७६ घरधुरी प्रभावित सूचीमा छन् । त्यस्तै जिल्लाका ६७ विद्यालय, १५ स्वास्थ्य संस्था, १ सय ३२ खानेपानीका धारा, ४८ कुलो, २१ पानीघट्ट र १४ लघु जलविद्युत् आयोजना पहिरोको उच्च जोखिममा रहेको प्रतिकार्य योजनामा उल्लेख छ ।