दशै सुरु भएसंगै सीमा नाका तथा बसपार्कमा चहलपहल बढ्यो, सुदूरपश्चिम प्रदेशका ७ वटा स्थानमा ‘हेल्प डेस्क’ स्थापना
2023/10/16, 11:28
 
ss

दशै शुरु भएसंगै कामको सिलसिलामा भारत पसेकाहरू दसैँ मनाउन घर फर्किन थालेपछि भारतसँग जोडिएका सीमा नाकामा भिडभाडसँगै चहलपहल बढेको छ । सुदूरपश्चिम प्रदेशको राजधानीको समेत रहेको धनगढी तथा अत्तरियास्थित बसपार्कमा दसैँ मनाउन पहाडी जिल्लामा जानेको निकै नै भीड लाग्न थालेको छ । खास गरी सुदूरपश्चिम प्रदेशका पहाडी एव हिमाली जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम, डोटी जानेहरूको धनगढी तथा अत्तरिया बसपार्कमा घुइँचो लागेको हो ।


भारतबाट फर्किएका कतिपय यात्रुहरूले गृह जिल्ला जाने सवारी साधन समेत नपाएको गुनासो सुनाएका छन् । लामो दुरीको यात्राका लागि अग्रिम टिकट सकिएको र अतिरिक्त गाडी आए मात्र सबै यात्रुलाई सहज हुने यातायात व्यवसायीहरूले बताएका छन् । सुन्दर सुदूरपश्चिम यातायात प्रालिले यात्रुहरूको चापलाई मध्यनजर राख्दै थप बस उपलब्ध गराउने जनाएको छ । सुन्दर सुदूरपश्चिम यातायात प्रालिका कार्यालय प्रमुख देवीलाल जोशीले यतिबेला काठमाडौँबाट धनगढी आउने र भारतबाट फर्किएकाहरू गाउँ जानेको चाप बढी रहेको बताउँदै जसलाई मध्यनजर गर्दै थप गाडी पठाइरहेको बताए ।

दसैँलाई मध्यनजर गरी सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले बसपार्कमा एउटा ट्राफिक बिट भए पनि चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । साथै सुदूरपश्चिम प्रदेशका ७ वटा सीमावर्ती क्षेत्रमा सहायता कक्ष ‘हेल्प डेस्क’ स्थापना गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेका हुन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ९एपीएफ०ले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै चाडपर्व सुरक्षा तथा यात्रु आवागमन व्यवस्थापन गर्न विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको जनाएका छन् । कैलालीको गौरीफन्टा र मोहना, दार्चुलाको पुलाघाट, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी लगायतका ७ ठाउँमा सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी र सशस्त्रका सहायता कक्ष छठसम्म सहायता कक्ष कायम रहने गरी स्थापना गरिएको हो । टिकट काउन्टर आसपास भाडामा हुने ठगी नियन्त्रण गर्न सादा पोसाकका सुरक्षाकर्मीलाई पनि तैनाथ गरिएको छ । प्रहरीले मुख्य सहर र बढी भिडभाड हुने स्थानमा सहायता कक्षलाई केन्द्रित गरेको छ । रोजगारीबाट तथा भारतीय बजारमा किनमेल गरेर फर्किएका नेपाली देश टेक्न नपाउँदै सीमा पारी नै लुटपाटमा पर्ने गरेका छन् ।