चिसोले बिरामी पर्न थाले बाजुराका भूकम्पपीडित
2023/11/20, 1:20
 
bajura

भूकम्पका कारण घरबारविहीन बाजुराका भूकम्पपीडित चिसोले बिरामी पर्न थालेका छन्। पालमा बस्नुपर्ने बाध्यताले विशेषगरी वृद्धवृद्धा र बालबालिका चिसोबाट प्रभावित भएका छन्।

खप्तड छेडेदह गाउँपालिका–५ डोगडीकी ६२ वर्षीया साउने सार्की चिसो पालमा बस्दा बिरामीले थलिएका छन्। उनलाई चिसोले गर्दा टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्नेलगायतका समस्याले पिरोलिरहेको छ। सार्कीको १३ जनाको परिवार रहेकोमा कोही पालमा बस्छन् त कोही बाख्राको खोरमा बस्ने गरेका छन्। आफू दमको बिरामी भएकाले पनि चिसोले झनै समस्या निम्त्याएको उनले गुनासो गरे। 

पटकपटक भूकम्पको पराकम्प आइरहेकै छ। यसैले गर्दा त्रसित भएका स्थानीय सामान्य चर्किएका घरमा बस्न अझै सुरक्षित ठान्दैनन्। त्यसैले उनीहरूमध्ये अधिकांशको बास खुला आकाशम्ुनि नै रहेको छ। सामान्य पालभन्दा बाहेक अरु केही राहत नपाएको पीडितको गुनासो छ। चिसोमा लत्ताकपडा र खाद्यान्नमा निकै समस्या भएको पनि उनीहरूले बताए।

सार्की जस्तै बाजुरामा धेरै भूकम्पपीडित बिरामीले थला पर्न थालेका छन्। सोही वडाकी दाँया सार्कीले बच्चा जन्माएको १९ दिन भएको छ। उनले आफू र बच्चाले न्यानो नपाएका कारण बिरामी भएको बताइन््। उठ्नै नसक्ने, टाउको दुख्ने र जन्मिएको बच्चालाई दूधसमेत खुवाउन नसकेको उनको दुखेसो छ। त्यस्तै वसन्तीदेवी सुनार नाबालक शिशुसहित पालमुनि बस्नुपरेकाले आफ्ना बच्चाहरू बिरामी हुन थालेको बताइन्।null

खप्तड छेडेदह गाउँपालिका–५ की मनकला सार्कीले भनिन्, ‘मैले अहिलेसम्म राहत पाएको छैन।’ घर भत्किएर तहसनहस भएपछि खुला आकाशमुनि नै बस्नुपरेको उनले बताइन्। कुनै पनि निकायबाट अहिलेसम्म पाललगायतका सामग्री नपाएको उनको गुनासो छ। सबै निकायलाई समस्या बताउँदा पनि कुनै पनि सहयोग उनले पाएकी छैनन्। 

बाजुरामा सबैभन्दा बढी क्षति खप्तड छेडेदह गाउँपालिकामा भएको छ। त्यहाँको ९ सय ८९ घरमा पूर्णरूपमा क्षति भएको भए पनि सबैलाई पाल व्यवस्थापन गर्न समस्या भएको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताए। केही संघ संस्थाहरूले थोरै थोरै राहत साम्रगी र पालहरू दिएका भए पनि यहाँँका नागरिकको आवश्यकताअनुसार दिन नसकिएको उनले बताए। 

घर भत्किएका नागरिकलाई सामान्य पालहरू दिएको भए पनि घर चर्किएका नागरिक भने खुला ठाउँमै बस्दै आएका र उनीहरूलाई केही पनि राहत दिन नसकेको अध्यक्ष रावतले बताए। गाउँपालिकामा धेरै घर भत्किएका छन् र नभत्किएका पनि पूरै चिराचिरा भएकाले बस्न लायक नभएको अध्यक्ष रावतको भनाइ छ। 

भूकम्पको परकम्पले बाजुराका ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्याकंमा उल्लेख छ। बझाङमा असोज १६ गते मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ। भूकम्पले बाजुरामा १३ सय ८३ घर पूर्णरूपमा क्षति भएका छन्। त्यस्तै आंशिक रूपमा ५ हजार २९ र ७ सय १८ जोखिममा परेका घरसहित गरेर ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासनको तथ्यांक छ।

पूर्णरूपमा सबैभन्दा बढी क्षति खप्तड छेडेदह गाउँपालिकामा ९ सय ८९ घर, बडिमालिकामा १ सय १४, त्रिवेणीमा १ सय १०, बुढीगंगामा १ सय २६ र बुढिनन्दा नगरपालिका १७ घरमा पूर्णरूपमा क्षति भएको छ। गौमुल गाउँपालिका २५ घर र हिमाली गाउँपालिकामा २ घरमा पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।