बझाङको बुङ्गलमा बाढीः लाखौंको नोक्सानी, लघु जलविद्युत र सडक पूर्ण रुपमा क्षतिग्रस्त
2020/07/04, 7:13
 
badi

शुक्रबार राति परेका अविरल वर्षाका कारण बझाङको बुङ्गल नगरपालिका– १ मा बाढी आउँदा लाखौंको नोक्सानी भएको छ । जुते भाडमय सामुदायिक वनको खोचबाट बग्ने सामान्य खोलामा राति एक्कासी बाढी आएको स्थानीय रामबहादुर बोहराले जानकारी दिए । बाढीका कारण मानविय क्षति नभए पनि लाखौंको भौतिक क्षति भएको उनले बताए । 

बाढीका कारण बुङ्गल नगरपालिकामा सबैभन्दा पहिला बनेको गोईचन गाड लघु जलविद्युत आयोजनाको पावर हावस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । साथै सँगै रहेको ३ वटा पानी घट्ट  समेत बगाएको छ । यस्तै गोइचन खोला छेउबाटै निर्माण भएको ग्रामीण सडक ५ पूर्ण रुपमा बगाएको छ । बाढीले गोइचन चकडा खानेपानी आयोजनाको मुल खानेपानी ट्याङ्की र स्थानीयको खेतीयोग्य जमिन समेत बगाएको स्थानीयले बताए ।

जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरा जाँदा ७ जना वेपत्ता भएका थिए । जसमध्ये ६ जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन । वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले मल्लेसका १७ घर बगाएको स्थानीयले जानकारी दिएका छन ।